कास्कीमा कांग्रेसका दुईमन्त्रीको टक्कर, क्याबिनेटदेखि प्रदेशको टिकटसम्म – Nepal Press

कास्कीमा कांग्रेसका दुईमन्त्रीको टक्कर, क्याबिनेटदेखि प्रदेशको टिकटसम्म

पोखरा । मुलुकमा राज्य पुनर्संरचनाको बहस चलिरहँदा कतिवटा प्रदेश बनाउने र कुन कुन जात-समुदायको पहिचानको आधारमा बनाउने भन्ने बहससँगै आन्दोलन पनि टडकारो रुपमा चर्किएको थियो । ठीक त्यही बेला पोखराका कुमार खड्का मुलुकलाई टुक्राटुक्रा पारेर प्रदेशहरु बनाउन नहुने अभियानको नेतृत्व गर्दै थिए । उक्त अभियानलाई अगाडि बढाउँदै उनले अखण्ड नेपाल पार्टी नै गठन गरे ।

अखण्ड पार्टीकै तर्फबाट खड्का संविधानसभामा समानुपातिक सांसद बन्न सफल भए । उनको राजनीतिक यात्रा सांसदमा सीमित रहेन । एकजनामात्रै सांसद भएको पार्टी भए पनि सरकारमा सहभागी भए । जातीय पहिचानसहितको राज्यको एजेन्डा लिएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा त्यही एजेन्डाविरोधी खड्का महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेका थिए ।

२०७४ को चुनावअघि खड्काले अखण्ड नेपाल पाटीलाई कांग्रेसमा विलय गराए । उनले कांग्रेसबाट गण्डकी प्रदेशमा समानुपातिक सांसद बन्ने मौका पाए । १५ जना सांसद भएको कांग्रेसबाट उनी संसदीय लेखा समिति सभापति बने । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर गण्डकीमा पृथ्वीसुब्बा गुरुङको सरकार धर्मराएपछि कांग्रेस नेतृत्वको सरकार बनाउन खड्का कम्मर कसेर लागे ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारमा उनी भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका छन् । तर, खड्कालाई अबको चुनावपछि आफ्नो राजनीति सकिने डर छ । कांग्रेसले यसअघि समानुपातिकमा बसेकालाई अब फेरि नदोहोर्‍याउने र राष्ट्रियसभामा पनि नलैजाने निर्णय गरिसकेको छ । जुन निर्णयले खड्कालाई दोहोरिएर सांसदको फुली लगाउने अवसर नजुर्न सक्छ ।

खड्का प्रतिनिधिसभामा जान चाहँदैनन् । आफूसँग संघको चुनाव लड्न साधन, स्रोत अपुग भएको उनी बताउँछन् । त्यसैले प्रदेशसभामा प्रत्यक्ष उम्मेदवार बन्ने उनको दाउ छ । केही हप्ताअघि पोखरा १६ मा ‘कुमार खड्का समर्थक भेला’ डाकेर खड्काले आफूसँग विकल्प नरहेकाले प्रत्यक्ष चुनाव लड्न नपाए राजनीति छाड्नुपर्ने अवस्था आएको बताए ।

‘प्रदेशसभा २ (ख) मा निर्वाचन लड्ने कि त्यो दिनदेखि राजनीति छोड्नेमध्ये एक विकल्प रोज्नुपर्छ । मसित धेरै अवसर छैन’, उनले भनेका थिए । प्रदेशसभा २ ‘ख’ मा चुनाव लड्न खड्कालाई अर्का मन्त्री विन्दुकुमार थापाले मैदान खाली गर्नुपर्नेछ । २ ‘ख’ बाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लड्ने आकांक्षा देखाइरहेका थापा टिकटका प्रबल दाबेदार छन् ।

आफ्नो भेलामा खड्काले समानुपातिकका लागि ढोका बन्द भइसकेकाले विन्दु थापालाई अर्को विकल्प रोजेर प्रत्यक्षमा आफूलाई छोड्न आग्रह गरेका थिए । पहिला प्रत्यक्ष चुनाव लडेकाले थापासँग समानुपातिकबाट आउने वा राष्ट्रियसभामा जाने र राजनीतिक नियुक्ति लिने विकल्प रहेकाले आफ्नो लागि मैदान खाली गर्न खड्काले आग्रह गरेका थिए ।

प्रत्यक्ष निर्वाचनमा टिकट पाउँदामात्रै आफ्नो राजनीति अगाडि बढ्नेमा खड्का स्पष्ट छन् । ‘उहाँ (थापा)ले अर्को विकल्प रोज्दा हामी दुवैको राजनीति बच्थ्यो । तपाईं प्रदेश आउँदा तपाईंको राजनीति त बच्ला, मेरो सकिन्छ । दुवैले बाँच्ने राजनीति गरौं’, उनले भनेका थिए । तर कांग्रेसको प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको सूचीमा विन्दु थापाको नाम भने छैन ।

प्रदेश छाड्न चाहँदैनन् थापा

दुवैको राजनीति जोगाउन अर्को विकल्प रोज्न खड्काले आग्रह गरेका थापाको मन भने प्रदेशसभामै राजनीति गर्ने रहेको छ । उनी फेरि पनि प्रदेशसभामै लडेर मुख्यमन्त्रीको दाबेदार बन्न चाहन्छन् । उनी खड्काका लागि बाटो खाली गरेर संघमा जाने सोचमा छैनन् । खड्काको लक्ष्य पनि प्रत्यक्ष चुनाव जितेर मुख्यमन्त्री बन्ने नै छ ।

थापा भन्छन्, ‘अघिल्लो निर्वाचनमा प्रतिकूल अवस्थामा पनि मैले जितें । स्वाभाविक रुपमै अब प्रदेशमै बस्ने हो । प्रदेशसभाका लागि नै नाम सिफारिस भएको छ’, यसअघिको चुनावमा कास्कीका सबै क्षेत्रमा वाम गठबन्धनले जित्दा कास्की क्षेत्र नम्बर २ ‘ख’ मा मात्रै कांग्रेसले जितेको थियो । यो क्षेत्रमा थापाले वाम गठबन्धनका माओवादी उम्मेदवार राजकाजी गुरुङलाई हराएका थिए ।

प्रदेशसभामा प्रत्यक्षतर्फ चुनाव नलडेर खड्कालाई छाड्ने कुरा खड्काको ‘मनको लड्डु’ मात्र भएको तर्क थापाको छ । अहिलेसम्म खड्काले आफूसँग सल्लाह नगरेकाले विकल्प बारे नसोचेको उनी बताउँछन् । ‘अहिलेसम्म सल्लाह भएको छैन । जसले पाए पनि सहयोग गर्नुपर्छ । म छाड्दिनँ, पार्टीले टिकट उहाँलाई दिए जिताउन लाग्छु’, थापा भन्छन्, ‘तर, विन्दु थापाले दावेदारी छाडेर अर्को विकल्प रोज्छ भन्नु उहाँको मनको लड्डुमात्रै हो ।’

चिसिएको सम्बन्ध

गण्डकीमा कांग्रेसको सरकार बनेपछि नै खड्का र थापा प्रतिस्पर्धी बनेको नजिकबाट चिन्नेहरु बताउँछन् । खड्का मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका विश्वासपात्र हुन् । त्यसैले मुख्यमन्त्री पोखरेलले खड्कालाई मन्त्री बनाए । खड्का मन्त्री बनेपछि थापाले पनि मन्त्री बन्न पाउनुपर्ने माग राखे ।

मन्त्री बनेपछि खड्काले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सक्ने बुझेका थापाले जुनै हालतमा मन्त्री बन्न लबिङ गरे । मन्त्रिपरिषद् विस्तारका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्धको आडमा थापा मन्त्री बनिछाडे । मुख्यमन्त्री पोखरेलले त्यतिवेला कांग्रेसबाटै डोबाटे विश्वकर्मालाई मन्त्री बनाउन चाहे पनि देउवाको निर्देशनमै थापा मन्त्री बनेका थिए ।

मन्त्री बनेपछि पनि यी दुई नेताको सम्बन्ध मित्रवत छैन । यी दुई आफ्नो क्षेत्रमा प्रभाव बढाउने दौडमै छन् । प्रदेश २ ‘ख’ मा प्रभाव टिकाइराख्न नै खड्काले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत एकै वडामा २५ करोड रुपैयाँ बजेट विनियोजन गराएका थिए । कानून मन्त्रालय सम्हालेका थापाले भने त्योअनुसारको बजेट विनियोजन गराउन सकेनन् ।

आफूहरुको सम्बन्ध सुमधुर नभएको कानूनमन्त्री थापा स्वीकार्छन् । ‘उहाँले त आजसम्म मेरो मन्त्रालयमा टेक्नुभएको छैन । मेरो मन्त्रालय कहाँ छ, थाहा पनि छैन होला’, थापा भन्छन्, ‘भेटघाट पनि छैन । मैले बाटो छाडिदियोस् भन्ने लाग्छ भने एकपटक आएर कुरा राख्न सक्नुपर्थ्यो । घर, मन्त्रालय जहाँ आए पनि हुन्थ्यो त ।’

पूर्वमन्त्री तथा कांग्रेस कास्कीका पूर्वसभापति यज्ञबहादुर थापा यी दुई नेताको दाबेदारीलाई पार्टीले व्यवस्थापन गर्ने बताउँछन् । यसबारे जिल्लाबाट कसैले केही भन्न नमिल्ने बताउँदै यो विषयलाई केन्द्रले नै टुंगो लगाउने जानकारी दिए ।

‘यहाँबाट कसैले केही भन्न मिल्दैन, केन्द्रले मिलाउला यो विषय’, उनले भने ।

अर्का नेता देवराज चालिसे भने दुई नेताको दाबेदारी आआफ्नो स्वभावमा भरपर्ने भन्दै यस विषयमा थप खुल्न चाहेनन् । ‘यो आआफ्नो स्वभावमा डिपेन्ड गर्छ, यसबारे धेरै बोलिराख्नु हुँदैन पनि’, उनले भने ।

कस्तो छ उनीहरुको राजनीतिक यात्रा ?

बेलायतमा अध्ययन गरेर आएपछि खड्का क्षेत्री समाज नेपाल कास्कीको अध्यक्ष बने । २०७० सालमा क्षेत्री समाज नेपालकै टीम लिएर अखण्ड नेपाल पार्टी स्थापना गरे । २०७० को चुनावमा यो पार्टीले प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा जित्न सकेन ।

प्रत्यक्षमा १२ हजार ५९० र समानुपातिकमा ३६ हजार ८२३ मत पायो । समानुपातिक मतका आधारमा खड्का अखण्ड पार्टीका एक्ला सांसद बने । प्रचण्डको सरकारमा उनी महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बने ।

खड्काले २०७४ मा अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर कांग्रेसको राजनीति थालेका हुन् । प्रदेशमा आएपछि उनी संसदको लेखा समिति सभापति बने । कालान्तरमा कांग्रेसको सरकार बनेपछि सरकारको प्रवक्ता तथा भौतिकमन्त्री भए ।

यता विन्दुकुमार थापा भने २०७३ बाट कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् । २०७१ देखि २०७३ सम्म पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा गरेका थापा त्यही कार्यकालमै कांग्रेस सभापति देउवालगायत शीर्ष नेतासँग नजिकिए ।

स्थानीय तह चुनावमा मेयरको टिकट नपाएका उनले प्रदेशसभा निर्वाचनमा टिकट पाए र कास्कीमा कांग्रेसबाट जित्ने एकमात्र उम्मेदवार बने । पछि देउवासँगको सम्बन्धको आडमा उनी मन्त्री बन्न सफल भए ।

दुवैको विकल्पमा युवा अनुहार मैदानमा

यो क्षेत्रमा विन्दु थापा र कुमार खड्का एकले अर्कोलाई निषेध गर्ने र असहयोगमा उत्रिने लगभग निश्चित भइसकेको अवस्थामा कांग्रेसबाटै प्रदेशसभा सदस्य टिकटका लागि नयाँ अनुहारको चर्चासँगै प्रवेश भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता मदन बस्नेतले सो क्षेत्रमा आफ्नो दाबी सशक्त बनाउँदै लगेका छन् । उनी यसअघि पोखरा महानगरपालिका १६ नम्बर वडामा जिताएको जस बोकेर प्रदेश सभा सदस्य उम्मेवारमा सिफारिस भएका छन् ।

एमालेको लालकिल्ला मानिएको सो वडामा पहिलोपटक मदन बस्नेतको नेतृत्वदायी भूमिकाबाट कांग्रेसले खाता खोल्न सफल भएको श्रेय उनले पाएका छन् । पोखरा महानगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेको वडा पनि यही पर्छ । दुई मन्त्रीलाई चुनौती दिँदै मैदानमा उत्रिएका बस्नेत शेखर गगन समूहका हुन् । दुवै मन्त्री संस्थापन पक्षका हुन् ।

नेविसंघको राजनीतिमा अघि बढेका बस्नेत तरुण दल हुँदै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनी व्यवसाय र समाज सेवाबाट पनि यहाँ स्थापित भएकाले उनको विकल्पबारे पनि नेताहरु छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर