पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गर्ने सरकारको तयारी, अध्ययन गर्दै कार्यदल (भिडिओ) – Nepal Press

पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गर्ने सरकारको तयारी, अध्ययन गर्दै कार्यदल (भिडिओ)

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । राजस्व सचिवको नेतृत्वमा गठन भएको कार्यदलले अध्ययन अघि बढाइसकेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

‘कार्यदलले अहिले खाका तयार गरिरहेको छ’, अर्थमन्त्री शर्माले भने, राजस्व सचिवको नेतृत्वमा एउटा कमिटी बनाएको छु । नेपालमा पेट्रोलियम पदार्थको गाडी विस्थापन गर्नेबारे कमिटीले अध्ययन गरिरहेको छ ।’

कार्यदललाई अबको १० वर्षपछि हाइड्रोजनबाट गाडी चल्छ भन्ने परिकल्पना गर्न सुझाव दिएको उनको भनाइ थियो ।

कार्यदलले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिनेछ । सरोकारवालासँग छलफल गरेर सरकार अघि बढ्ने मन्त्री शर्माले बताए । उनले नेपालका पाँचतारे होटललाई अनिवार्य चार्जिङस्टेशन बनाउन पनि निर्देशन दिएका छन् । उनले पार्किङ गर्न मिल्ने अन्य होटललाई पनि चार्जिङ स्टेशन बनाउन भनेका छन् ।

बिहीबार ईभी नाडा आटो एक्स्पो २०२२ को उद्घाटनमा पुगेका अर्थमन्त्रीले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापन गर्ने विषयमा सरकारले गरिरहेको कामको विषयमा जानकारी गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर