वागमती प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु, ५ हजार ३०० प्रहरी परिचालित – Nepal Press

वागमती प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु, ५ हजार ३०० प्रहरी परिचालित

हेटौँडा । वागमती प्रदेश प्रहरी कार्यालयले प्रहरीको चाडपर्व (वडा दसैं, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । आज मातहतका जिल्ला प्रमुखहरुको उपस्थितिमा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेकी हुन् ।

यस वर्षको चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना लागु गरिएको बज्रचार्यको भनाई छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्र्तगत बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने, नियमित क्विक रेस्पोन्स टिम (क्युआरटी) टोली परिचालन गर्ने, नियमित मोवाइल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, वैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने, सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाउने गरी उल्लेखित सुरक्षा योजना बनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी ५,३३२ जना प्रहरी टोली परिचालित बागमती प्रदेश प्रहरी कार्यालयको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *