बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा – Nepal Press

बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा

कैलाली । आसन्न चुनावको सीट बाँडफाँटमा सत्ता गठबन्धनबीच भागबण्डा मिलाउन सकस परिरहेको बेला जिल्लामा आफू अनुकूल गठबन्धनको तयारीमा लागेका छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा अहिले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेका छन् । एमालेबाट दुई पटकसम्म निर्वाचित भएर मन्त्री भइसकेका पुराना नेता भानुभक्त जोशी अहिले नेकपा एसमा छन् । जोशीलाई टिकट दिनुपर्ने दबाबसहित बझाङमा नेकपा एसको दाबी गरिरहेको छ । टिकटमा नेकपा एसले बझाङ पाउने सम्भावना बढेलगत्तै कांग्रेसले पनि आफ्नो दाबी नछाड्ने निर्णय गरेको छ ।

बझाङ कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने संकेत गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले माओवादीसँग गठबन्धन गर्ने र नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।

‘बझाङ जिल्लाका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत् स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी गराइन्छ’ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो न्यून स्थानमा रहेको कांग्रेसको दाबी छ ।

नेकपा एसले भने जिल्लामा आफ्नो पार्टीको सशक्त दाबी गरेको जनाएको छ । जिल्लाले विज्ञप्ति जारी गर्दैमा केही नहुने प्रदेश सचिव दिनेश चन्द्र सुवेदी बताउँछन् ।

‘ गठबन्धन गर्ने, नगर्ने भन्ने अधिकार केन्द्रलाई छ । जिल्लाले निर्णय गर्दैमा केही फरक पर्दैन’ उनले भने, ‘डोटीमा पनि त गर्दैन भनेका छन् नि त्यो भनेर हुँदैन बझाङमा हाम्रो दाबी छ । हामी जित्छौं पनि ।’

उनले सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभामध्ये ५ क्षेत्रमा आफ्नो पार्टीको दाबी रहेको जानकारी दिए । उनका अनुसार बझाङ, अछाम १, बैतडी, डोटी र कैलाली ४ मा नेपाली एकीकृत समाजवादीले दाबी गरिरहेको छ ।

कांग्रेसभित्रै रस्साकस्सी

बझाङमा माओवादी केन्द्रबाहेक अन्य सबै दलले चासो दिएका छन् । नेकपा एसबट पूर्वमन्त्री भानुभक्त जोशीको सम्भावना छ । एमालेबाट सर्वसम्मत नभए पनि ऐन महरको सम्भावना धेरै छ । महरसँगै भैरव सिंह, आसा विक, महेश भट्टराई र जुना जाग्रीको नाम प्रतिनिधिसभाको लागि सिफारिस भएको छ । अघिल्लोपटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह ,पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका छन् । अर्जुनजङ्ग बहादुर सिंह २०४८ र ०५६ नेपाली कांग्रेसबाट विजयी भइसकेका छन् । उनी पूर्वपरराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन् । दुई पटकसम्म विजयी भइसकेको सिंह २०७० सालमा बझाङ १ मा नेकपा एमालेका मानप्रसाद खत्रीसँग पराजित भएका थिए ।

त्यस्तै कांग्रेसबाट अर्का उम्मेदवारको चर्चा रहेका व्यक्ति पृथ्वीबहादुर सिंह हुन् । पूर्व जिल्ला समिति सभापति रहेका सिंह अघिल्लो पटक एमाले उम्मेदवार भैरवबहादुर सिंहसँग करिब ८ हजार मतले पराजित भएका थिए । कांग्रेसबाट आकांक्षी देखिएका नरेशबहादुर सिंह २०७० सालको निर्वाचनमा एमालेका लालबहादुर रावलसँग पराजित भएका थिए ।

वैशाख ३० गतेको मत परिणाम अनुसार यहाँ एकल रूपमा एमाले बलियो देखिएको छ । गठबन्धन हुँदा भने कांग्रेस बलियो छ। आफू बलियो भएको स्थानमा कांग्रेस समाजवादीलाई छोड्न जिल्लामा तयार छैन । नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९ हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका छन् ।

२०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमाले भने चार पटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।

यो पनि पढ्नुस् : बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर