बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी – Nepal Press

बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी

कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुँदै नेकपा एमालेका केन्द्रीय सदस्य मनोनीत भएका ऐन महर यसपटक प्रतिनिधिसभामा उम्मेदवार दिने तयारीमा छन् । बझाङबाट उम्मेदवारको रेसमा रहेका महरले औपचारिकरूपमा भने घोषणा गरिसकेका छैनन् ।

महरसँगै एमालेबाट लालबहादुर रावलले पनि प्रतिनिधिसभामा दाबी गरेका छन् । हालका प्रतिनिधिसभा सदस्य तथा बझाङ इन्चार्ज भैरवबहादुर सिंह पनि दोहोरिने मनसायमा छन् । त्यस्तै अन्य दुई केन्द्रीय सदस्य अफिलाल ओखेडा र आसा विक पनि चुनावी दौडमा छन् । तर, उनीहरू प्रतिनिधिसभा र प्रदेशसभामध्ये जहाँ व्यवस्थापन गर्दा पनि उपयुक्त रहेको बताउँछन् ।

खडक खड्का, दमन भण्डारी र दिलबहादुर भण्डारी पनि आकांक्षी छन् । यसअघि बझाङको ‘क’ बाट निर्वाचित भएर अहिले प्रदेशको सभामुख रहेका अर्जुनबहादुर थापाले भने अहिलेसम्म निर्वाचनमा होमिनेबारे छलफल सुरू गरेका छैनन् । उनीनिकटको स्रोतले भने प्रतिनिधिसभामा पार्टीले विश्वास गरेपछि नपर्ने योजनामा थापा रहेको बताएको छ ।

‘प्रतिनिधिसभामा ऐन महर र भैरवबहादुर सिंह र अफिलाल ओखेडाको बढी दाबी देखिन्छ । केहीले भने प्रतिनिधिसभाको दाबी गरेर प्रदेशसभामा पक्का हुन खोजेको देखिन्छ’ बझाङका एक एमाले नेताले भने, ‘ तीमध्ये पनि ऐन महरको सम्भावना बढी छ ।’

युवा पुस्तामा लोकप्रिय रहेका महर एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा अनेरास्ववियूका संयोजक बनेका महर एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुलेर पैरवी गरेका थिए ।

‘संकटका बेला एमालेको पक्षमा उभिएका कारण उहाँ (महर) अध्यक्ष ओली निकट हुनुहुन्छ । यस पटक उहाँको सम्भावना बढी छ’ ती नेताले भने ।

प्रतिनिधिसभा दाबी गरेका मध्ये रावल २०७० मा संविधानसभा सदस्य हुन्, ओखेडा संविधानसभा सदस्य हुन् भने विक अहिले प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्यमन्त्री हुन् ।

२०७४ मा फराकिलो मतान्तरले एमाले विजयी भएकाले अहिले पनि यहाँ एमालेले जित्न सक्ने सबै आकांक्षीको दाबी छ । प्रतिनिधिसभामा अघिल्लोपटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

गठबन्धनमा सकस

बझाङमा प्रतिनिधिसभातर्फ आकांक्षी धेरै देखिए पनि सशक्त दाबी गर्नेहरू भने कम छन् । केही भने प्रतिनिधिसभाको दाबी गरेर प्रदेशसभामा सीट सुरक्षित गर्ने योजनामा छन् ।

गठबन्धनमा यो क्षेत्र कांग्रेस या नेकपा एकीकृत समाजवादीले भन्नेमै विवाद देखिएको छ । कांग्रेसले कुनै पनि अवस्थामा बझाङ नछोड्ने दाबी गरेको छ । कांग्रेसका जिल्ला सभापति खडकबहादुर बोहराले प्रतिनिधिसभा छोड्नु पर्ने अवस्थामा गठबन्धन हुन नसक्ने चेतावनी दिए ।

‘बझाङमा कांग्रेस बलियो छ । स्थानीय तहमा पनि हामी बहुमतमा छौँ । हाम्रै मतले त्यहाँ केही अरूले जितेका छन्’ उनले भने, ‘हामी गठबन्धन नगर्ने पक्षमा छौँ , भइहाले पनि प्रतिनिधिसभा हामी राखेर दुई प्रदेशसभामध्ये एउटा माओवादीलाई र अर्को नेकपा एकीकृत समाजवादीलाई दिँदा हुन्छ । ’

बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह ,पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका छन् । अर्जुनजङ्ग बहादुर सिंह २०४८ र ०५६ नेपाली कांग्रेसबाट विजयी भइसकेका छन् । उनी पूर्वपरराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बझाङबाट पहिलोपटक उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । दुई पटकसम्म विजयी भइसकेको सिंह २०७० सालमा बझाङ १ मा नेकपा एमालेका मानप्रसाद खत्रीसँग पराजित भएका थिए । खत्रीले ११ हजार ५३० ल्याउँदा सिंहले १० हजार ७०८ मत पाएका थिए ।

त्यस्तै कांग्रेसबाट अर्का उम्मेदवारको चर्चा रहेका व्यक्ति पृथ्वीबहादुर सिंह हुन् । पूर्व जिल्ला समिति सभापति रहेका सिंह अघिल्लो पटक एमाले उम्मेदवार भैरवबहादुर सिंहसँग करिब ८ हजार मतले पराजित भएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

कांग्रेसबाट आकांक्षी देखिएका नरेशबहादुर सिंह २०७० सालको निर्वाचनमा एमालेका लालबहादुर रावलसँग पराजित भएका थिए । एमालेका लालबहादुर रावलको १० हजार ५९४ ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका नरेशबहादुर सिंहले १० हजार ०९६ मत पाएका थिए । अहिले फेरी दुवैजनाले दाबी गरेका छन् ।

गठबन्धनबाट कांग्रेसले जोडतोड गरेको क्षेत्रमा माओवादी केन्द्रको भने त्यति धेरै रोजाइमा परेको छैन । यता नेकपा एसका नेता भानुभक्त जोशीले आफ्नो पार्टीले बझाङ नछोड्ने दाबी गरेको छ । जोशी एमालेमा रहँदा दुई पटक सम्म यस क्षेत्रबाट निर्वाचित भइसकेका छन् । उनी २०५१ र ०६४ सालमा त्यहाँबाट निर्वाचित भएका हुन् ।

‘बझाङ हाम्रो प्राथमिकतामा छ’ एसका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले भने ‘कुनै पनि अवस्थामा बझाङ छोड्ने भन्ने कुरा आउँदैन । ’

उनकाअनुसार नेकपा एकीकृत समाजवादीले बझाङ, अछाम १, डोटी, कैलाली ४ र बैतडी गरि ५ क्षेत्र दाबी गरेको छ । सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा क्षेत्र छन् ।

‘हाम्रो ५ क्षेत्रमा दाबी छ अब हेरौँ कति क्षेत्रमा सहमति हुन्छ’ उनले भने ‘स्थानीय तहको मत अनुसार बझाङ छोड्न सकिने अवस्था छैन ।’
सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये नेकपा एकीकृत समाजवादीले यहाँ सबै भन्दा धेरै मत ल्याएको छ । वडाध्यक्षहरूको मत अनुसार बझाङमा कांग्रेसभन्दा करिब ८ हजार मतले उछिनेर एमाले अग्रस्थानमा छ ।

नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९ हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका छन् ।

२०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमालेले भने चारपटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।


प्रतिक्रिया

One thought on “बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी

  1. पार्टी जो सुकै होस हामी युवालाई हेर्नेछौ र अब सितहरुको लाजनिती गयो 90% अन्य जाती भय पनि सिहहरुले बझाङ्गमा केही गरेका छैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर