लुम्बिनी सरकारद्वारा ६१ जनालाई पदक एवं सम्मान घोषणा – Nepal Press

लुम्बिनी सरकारद्वारा ६१ जनालाई पदक एवं सम्मान घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताले रगत र पसिना बगाउँदै ठूलो त्याग र बलिदानीबाट प्राप्त गरेको संविधान सातौं वर्षमा आइपुग्दा परिपक्व बन्दै गएको बताएका छन् ।

सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष कार्यक्रममा उनले जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्ने जिम्मेवारी सबैको भएको बताए । प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले संविधानको रक्षा, कार्यान्वयन र सवलीकरणका लागि नयाँ प्रतिनिधिसभा र प्रदेशसभाले अझै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘संविधानको संस्थागत विकास, पूर्ण कार्यान्वयन र सवलीकरणका लागि आगामी निर्वाचनपछि स्थापना हुने प्रतिनिधिसभा र प्रदेशसभा सफल रहनेछन्’, मुख्यमन्त्री केसीले भने ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश हिमाल, पहाड र तराईको समीश्रणसँगै भगवान गौतम बुद्धको जन्मभूमिसमेत रहेकाले यो प्रदेश सौभाग्यशाली प्रदेशको रुपमा रहेको बताए ।

कार्यक्रमपूर्व बुटवलको राजमार्ग चौराहबाट बुटवल सभाहलसम्म विभिन्न झाँकीसहितको प्रभातफेरी निकालिएको थियो ।

६१ जनालाई पदक घोषणा

सातौं संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६१ जनालाई पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । सोमबार प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नाम घोषणा गरिएको हो ।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिने भएको छ । लुम्बिनीको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको छ ।

त्यसैगरी प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरिनेछ । त्यसैगरी प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई र प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरिने भएको छ ।

त्यस्तै प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १/१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरी ६१ जनालाई विभूषित गरिने लुम्बिनीका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *