नीर शाहको संयोजकत्वमा विकास बोर्डले बनायो सल्लाहकार समिति, दिपाश्री पनि अटाइन् – Nepal Press

नीर शाहको संयोजकत्वमा विकास बोर्डले बनायो सल्लाहकार समिति, दिपाश्री पनि अटाइन्

काठमाडौं । चलचित्र विकास बोर्डले नीर शाहको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ । हिजो बसेको बोर्ड बैठकले अध्यक्ष भुवन केसीको प्रस्तावमा समिति गठन गरी स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको हो ।

समितिमा अभिनेत्री दिपाश्री निरौला, विधान कार्की, शोभित बस्नेत, सुशान्त श्रेष्ठ, रविन्द्र खड्का र आकाश अधिकारी सदस्य रहेका छन् । कार्की म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष हुन् । बस्नेत कलाकार तथा निर्देशक हुन् भने श्रेष्ठ अभिनेता हुन् । यसैगरी, खड्का पुराना कलाकार हुन् भने अधिकारी निर्माता निर्देशक हुन् ।

यसैबीच, बोर्डले बनाएको समितिलाई लिएर एक निर्देशक तथा समिक्षकले हचुवामै प्रतिक्रिया जनाएका छन् । उनले बोर्डमा एक जना पनि महिला सदस्य नरहेको भन्दै सामाजिक सञ्जालबाट विरोध गरेका हुन् ।

लामाले लेखेका थिए, ‘चलचित्र विकास बोर्डले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नसमेटेकोमा मेरो विरोध छ । अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्‍याएनन् पुर्‍याएनन्, सल्लाहकार समितिका संयोजक नीर शाहले समेत अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि, कांग्रेसीजनहरुले ‘समावेशीय सिद्धान्त’ पोलेर खाएका हुन् ?’

तर, विकास बोर्ड स्रोतले भने भुवन केसीकै प्रस्तावमा महिला सदस्यका रुपमा दिपाश्रीलाई समावेश गरिएको बतायो । अभिनेत्री दिपाश्रीले पनि नेपाल प्रेससँग आफू समितिमा रहेको पुष्टि गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर