पालिका अध्यक्ष फरार भएसँगै पाल्हीनन्दमा छैन सरकारी गाडी – Nepal Press

पालिका अध्यक्ष फरार भएसँगै पाल्हीनन्दमा छैन सरकारी गाडी

रुपन्देही । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको गाडी एक महिनायता कहाँ छ भन्ने अन्यौल भएको छ । साझेदार ठगी तथा लागूऔषध मुद्दामा परेका पालिका अध्यक्ष बैजुप्रसाद गुप्ता फरार भएसँगै सो गाडी पनि कहाँ छ भन्ने खुलेको छैन ।

घटनाको अनुसन्धान सुरु भएलगत्तै गाउँपालिका आउन छाडेका अध्यक्ष गुप्ताले आफू चढ्ने गाउँपालिकाको गाडी कहाँ राखेका छन् भन्ने गाउँपालिका प्रशासनलाई थाहा छैन । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले दुई दिन पछि गाडी सहित आफै गाउँपालिकामा आउने गुप्ताले म्यासेन्जर कलमा बताएको जानकारी दिए । गुप्ताको मोबाइल भने दुई सातायता अफ रहेको छ । उनले पत्र लेखेर बिरामी परेको भन्दै जानकारी दिएका छन् ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीले दुई हप्ताअघि पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी कार्यालयमा हुनुपर्नेमा कहाँ छ भन्ने पत्तो नभएको बताइन् । उनले भनिन् ‘पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी अफिसमा छाड्नुपर्ने हो, तर दुरुपयोग भएको छ ।’ १२ वर्षदेखि भारतीय नागरिक रामा गुप्तासँग साझेदारीमा कवाड व्यवसाय गर्दै थिए पालिका अध्यक्ष बैजुले ।

पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने हिसाबमा देखिएकोमा सोही रकम नदिनका लागि अध्यक्ष बैजुले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले देखाएपछि उनी फरार रहेका छन् ।तीन महिनादेखि थुनामा रहेका भारतीय नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

यसैबीच अध्यक्ष बैजुप्रसाद गुप्ता मुछिएको मुद्दाको अनुसन्धान फितलो भएको र उनलाई राजनीतिक पहुंचका आधारमा जोगाउन खोजिएको भन्दै पोलिग्राफ टेस्ट गर्न माग गरिएको छ ।

उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरुको दावी छ ।

गुप्ताकै योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको, गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको माग दाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेसिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् ।
सरकारी वकिल कार्यालय नवलपरासीका चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिइएको बताए ।

पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्षलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्नुपर्नेमा प्रहरीले पालिका कार्यालयमा गएर कुराकानी गरेको विषयमा सरकारी वकिल कार्यालयले स्पष्ट पार्न भनेको सिंजालीले बताए ।

माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष गुप्ताले राजनीतिक पहुंच र आर्थिक चलखेलका आधारमा प्रहरी प्रशासनलाई प्रभावित गरेर आफू उम्किन खोजेको भन्दै उनका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न हिरासतमा रहेका भारतीयका परिवारले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले पक्राउ पुर्जी जारी भएका गाउँपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर