रवीन्द्र मिश्रलाई प्रकाशमानको कटाक्ष- दुईवर्ष दल टिकाउन नसक्नेले काम गर्छुमात्रै भनेर हुन्छ ? (भिडिओ) – Nepal Press

रवीन्द्र मिश्रलाई प्रकाशमानको कटाक्ष- दुईवर्ष दल टिकाउन नसक्नेले काम गर्छुमात्रै भनेर हुन्छ ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई आफ्नो दललाई दुईवर्ष टिकाउन नसकेको भन्दै कटाक्ष गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता सिंहले आफ्ना प्रतिस्पर्धी मिश्रप्रति यस्तो कटाक्ष गरेका हुन् ।

‘नयाँ दलहरू के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौं’, उनले भने, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एकदुईवर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउन सक्ला ? क्षमता होला ?’

नयाँले पुरानालाई केही गर्न सक्दैनन् भनेर आरोपमात्रै लगाएर नहुने उनको भनाइ थियो । अहिले नयाँ दल खोल्नु भनेको नाङ्लो पसल राख्नु जस्तै भएको नेता सिंहको टिप्पणी थियो । उनले भने, ‘नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ ? त्यो त देखिइहाल्यो नि !’

अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना गर्नु अमूर्त कुरा रहेको पनि उनले बताए । ‘भ्रष्टाचार गर्ने को हो ? उसैलाई यो हो भनेर भन्न सक्नुपर्छ । स्वच्छ र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरू पनि निरुत्साहित हुन्छ’, सिंहले भने, ‘व्यवस्थामा रहेको कमजोरी सच्याउन राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्छ ।’

नेता सिंह काठमाडौं- १ बाट निर्वाचित सांसद हुन् । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए । उतिबेला कांग्रेस उम्मेदवार सिंहले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।

यसपटक पनि दुबैजना सोही निर्वाचन क्षेत्रमा लड्ने तयारी गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर