आइसक्रिम भनेर फ्रोजन डिजर्ट त खाइरहनु भएको छैन ? – Nepal Press

आइसक्रिम भनेर फ्रोजन डिजर्ट त खाइरहनु भएको छैन ?

आइसक्रिम हामी सबैको मनपर्ने खाद्य पदार्थ हो । त्यसमा पनि बच्चाबच्ची र किशोरकिशोरीहरू त आइसक्रिम भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले आजकल आइसक्रिमको व्यापार ह्वात्तै बढेको छ । सपिङ मल, रेस्टुरेन्ट, संग्रहालय वा मानिसहरुले घुमफिर गर्ने र पर्यटकीय महत्व भएका हरेक स्थानमा आइसक्रिम उपलब्ध हुनु अनिवार्य जस्तै भइसकेको छ । त्यस्तै विभिन्न भोज वा पार्टी जस्ता खाने पिउने उत्सवमा डिजर्टको रुपमा आइसक्रिम राख्नु पनि इज्जतको विषय भएको छ । यसरी हाम्रो खानामा आइसक्रिम दिनानुदिन महत्वपूर्ण हुँदै गइरहेको छ ।

तर, हामीले किनमेल वा सेवन गर्दा जेलाई आइसक्रिम ठानिरहेका छौं, त्यो साँच्चिकै आइसक्रिम नै हो वा अरु केही हो ? प्रस्तुत लेखमा यसै कुरालाई तटस्थ प्राविधिक मतका साथ प्रस्ट पार्ने कोसिस गरिएको छ ।

बजारमा आइसक्रिम भनेर हामीले ठानेका विभिन्न ब्राण्डमा उपलब्ध अधिकांश पदार्थहरू वास्तवमा आइसक्रिम होइनन् । हामीले आइसक्रिम हो भन्ठानेका र आइसक्रिम नै ठानेर खरिद वा सेवन गरिने अधिकांश पदार्थहरू वास्तवमा आइसक्रिम जस्तै देखिने र आइसक्रिमको जस्तै स्वाद भएका ‘फ्रोजन डिजर्ट’ हुन्, आइसक्रिम होइनन् ।

आइसक्रिम र फ्रोजन डिजर्टमा फरक छ । तर, साधारणले त्यो फरक सजिलै थाहा पाउन सक्दैनन् । त्यसैले लेवलमा स्पष्ट देखिने, बुझिने र सजिलै पढ्न सकिने गरी ‘आइसक्रिम’ वा ‘फ्रोजन डिजर्ट’ भनेर उल्लेख नगर्दासम्म उपभोक्ताले दुवै खाले पदार्थलाई आइसक्रिम नै ठान्छन् । जसको कारण प्रकारान्तरमा उपभोक्ता थाहै नपाई ठगिन सक्छन् ।

बजारमा आइसक्रिम भनेर हामीले ठानेका विभिन्न ब्राण्डमा उपलब्ध अधिकांश पदार्थहरू वास्तवमा आइसक्रिम होइनन् ।

आइसक्रिम र ‘फ्रोजन डिजर्ट’ मा के फरक छ ?

देख्दा उस्तै देखिए पनि र स्वाद उस्तै भए पनि आइसक्रिम र ‘फ्रोजन डिजर्ट’ मा तात्विक फरक छ । हुन त आइसक्रिम वा फ्रोजन डिजर्टको फरकपनलाई सम्बोधन गर्ने गरी नेपालमा आइसक्रिम वा फ्रोजन डिजर्टको गुणस्तर मापदण्ड अझैसम्म बनिसकेको छैन । त्यसैले भारत र संयुक्त राज्य अमेरिकाका मापदण्डहरूलाई आधार मानेर आइसक्रिम र ‘फ्रोजन डिजर्ट’ को भिन्नता छुट्याउन यहाँ प्रयत्न गरिएको छ ।

अमेरिकी सरकारको संघीय विनियम संहिताको एक्काइसौं अध्यायको दफा १३५.११० मा आइसक्रिमको परिभाषा र मापदण्ड तोकिएको छ । मुख्य-मुख्य मापदण्डको कुरा गर्दा अमेरिकी संहिताअनुसार आइसक्रिममा कम्तिमा १० प्रतिशत घृतांश (मिल्क फ्याट) र कम्तिमा ६ प्रतिशत घृतांशरहित दुग्ध ठोस पदार्थ (नन-फ्याट मिल्क सोलिड) हुनैपर्दछ । त्यसका अलावा आइसक्रिममा ठोस दुग्ध पदार्थ (मिल्क सोलिड) कम्तिमा २० प्रतिशत भएकै हुनुपर्दछ । त्यस्तै यदि अण्डाको पहेंलो भाग पनि मिसाएर आइसक्रिम बनाइएको रहेछ भने त्यसको मात्रा कुल आइसक्रिमको १.४५ भन्दा बढी हुनुहुँदैन । उल्लेखित मापदण्डबाट तलमाथि गरी बनाइएको पदार्थलाई अमेरिकामा यत्तिकै ‘आइसक्रिम’ भनेर बिक्री वितरण गर्न पाइन्न ।

भारत सरकारको अनिवार्य गुणस्तर मापदण्ड (फुड सेफ्टी स्टाणडर्डस रेगुलेसन) २०११, दफा २.१.१४) अनुसार आइसक्रिममा न्यूनतम ३६ प्रतिशत कुल ठोस पदार्थ, न्यूनतम १० प्रतिशत घृतांश (मिल्क फ्याट), न्यूनतम ३.५ प्रतिशत दुग्ध-प्रोटिन (मिल्क प्रोटिन) भएकै हुनुपर्दछ । यदि घृतांशको मात्रा १० प्रतिशतभन्दा कम हुने गरी भारतमा कुनै आइसक्रिम बिक्री वितरण गर्नु छ भने त्यस्तो आइसक्रिमको लेवलमा तोकिएको मापडण्ड अनुसार ‘मध्यम घृतांश (मिडियम फ्याट)’ वा ‘न्यून घृतांश (लो फ्याट)’ आइसक्रिम भनी स्पष्ट रुपमा खुलाउनैपर्दछ ।

अमेरिकी संघीय विनियम संहितामा ‘फ्रोजन डिजर्ट’ भनेर खास खाद्य एकल पदार्थलाई पहिचान गरी त्यसको मापदण्ड बनाएको पाइन्न । तर, भारत सरकारले भने फ्रोजन डिजर्टलाई अलग्गै खाद्य पदार्थको रुपमा मान्यता दिई यसको अनिवार्य न्यूनत्तम गुणस्तर मापदण्ड पनि निर्धारण गरिदिएको छ । तर, फ्रोजन डिजर्टको मापदण्ड आइसक्रिमको मापदण्डभन्दा स्पष्ट रुपमा फरक छ । भारत सरकारको अनिवार्य गुणस्तर मापदण्ड (फुड सेफ्टी स्टाण्डर्डस रेगुलेसन, २०११, दफा २.१.१५) अनुसार फ्रोजन डिजर्टमा पनि आइसक्रिममा जस्तै न्यूनत्तम चिल्लो पदार्थ १० प्रतिशत नै तोकिएको छ । तर, त्यस्तो चिल्लो पदार्थको परिमाण दुग्ध स्रोतबाट नै पूर्ति हुनुपर्छ भन्ने छैन । वनस्पतिबाट उत्पादित तेल प्रयोग गर्दा पनि हुन्छ ।

लेवलमा स्पष्ट देखिने, बुझिने र सजिलै पढ्न सकिने गरी ‘आइसक्रिम’ वा ‘फ्रोजन डिजर्ट’ भनेर उल्लेख नगर्दासम्म उपभोक्ताले दुवै खाले पदार्थलाई आइसक्रिम नै ठान्छन् ।

सामान्य रुपमा भन्दा आइसक्रिम भनिसकेपछि त्यसमा मापदण्डले तोकेअनुसारको परिमाणमा क्रिम, नौनी, बटर आयल वा दूधबाट झिकिएको फ्याट नै अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । ‘फ्रोजन डिजर्ट मा चाहिं वनस्पतिबाट उत्पादित तेल (जस्तै पाम आयल) प्रयोग गर्दा पनि हुन्छ । हामीलाई थाहै छ, दूधबाट झिकिएको फ्याट (जस्तैः घ्यू)को तुलनामा वनस्पतिबाट उत्पादित तेल (जस्तैः पाम आयल) कता हो कता सस्तो पर्दछ । त्यसैले सस्तोमा बिक्री गरेर पनि बढी मुनाफा आर्जन गर्न उद्योगहरूले फ्रोजन डिजर्ट मुख्यतः वनस्पतिबाट उत्पादित तेल (पाम आयल) प्रयोग गरेर नै बनाउने गर्छन् ।

उपभोक्ताले आइसक्रिम र ‘फ्रोजन डिजर्ट’ कसरी छुट्याउने ?

माथि उल्लेखित तथ्य र मापदण्डहरूका आधारमा प्रस्ट हुन्छ कि आइसक्रिममा दूधबाट निकालिएको फ्याटमात्र प्रयोग गरिएको हुन्छ । ‘फ्रोजन डिजर्ट’ मा वनस्पतिबाट उत्पादित तेल (मुख्यतः पाम आयल) प्रयोग गरिएको हुन्छ । तर, स्वाद वा स्वरूपकै आधारमा आइसक्रिम वा फ्रोजन डिजर्ट छुट्याउन सामान्य उपभोक्तालाई मुस्किल पर्नसक्छ । उपभोक्ताले त्यो पदार्थको लेबलमा मुख्यतः दुई कुरा हेरेर त्यो आइसक्रिम हो कि फ्रोजन डिजर्ट हो, त्यो छुट्याउन सक्दछ ।

पहिलो उपायः लेबलमा ‘फ्रोजन डिजर्ट’ लेखेको छ कि आइसक्रिम लेखेको छ त्यो हेर्नुपर्दछ । आइसक्रिम हो रहेछ भने त्यो बुझिने र प्रस्ट देखिने गरी लेखिएकै हुन्छ ।

फ्रोजन डिजर्ट हो रहेछ भने ब्राण्ड नामको मुन्तिर ‘फ्रोजन डिजर्ट’ लेखिएको हुन्छ । तर, विचार गर्नुपर्ने कुरा के छ भने कतिपय कम्पनीद्वारा उत्पादित फ्रोजन डिजर्टको लेबलमा ‘फ्रोजन डिजर्ट’ भन्ने शब्दावली अति साना अक्षरमा लेखिएको वा झट्ट नबुझिने किसिमका अक्षरको प्रयोग गरेर लेखिएको हुनसक्छ । उपभोक्ताले फ्रोजन डिजर्ट भनेर सजिलै थाहा नपाऊन् र आइसक्रिम सम्झेरै खरिद वा सेवन गरुन् भन्ने नियतले त्यस्तो गरिएको हो ।

आइसक्रिम भनिसकेपछि त्यसमा मापदण्डले तोकेअनुसारको परिमाणमा क्रिम, नौनी, बटर आयल वा दूधबाट झिकिएको फ्याट नै अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ ।

दोस्रो उपायः यदि लेबलमा हेरेर ‘फ्रोजन डिजर्ट’ वा आइसक्रिम के हो त्यो सजिलै छुट्टिएन भने त्यसै प्याकेटको लेबलमा प्रयोग गरिएका वस्तुहरू (लिस्ट अफ इन्ग्रेडिएन्ट्स) को विवरण हेर्नुपर्छ । यदि त्यो लिस्टमा ‘भेजिटेबल आयल’ पनि उल्लेख गरिएको रहेछ भने त्यो आइसक्रिम नभएर ‘फ्रोजन डिजर्ट’ हो भन्ने प्रस्ट हुन्छ ।

आइसक्रिम खानु ठीक कि ‘फ्रोजन डिजर्ट’ ?

प्रथमतः आइसक्रिम वा फ्रोजन डिजर्टमध्ये कुन खानु ठीक हो भनेर निर्क्योल गर्नु यो लेखको उद्देश्य होइन । यी दुई उस्तै देखिने तर फरक फरक खाद्य वस्तु हुन् । त्यसैले आइसक्रिमलाई स्पष्ट रुपमा आइसक्रिम नै भनेर बेच्नुपर्छ । आइसक्रिम बनाउँदा बढी लागत लाग्ने हुनाले आइसक्रिमलाई ‘फ्रोजन डिजर्ट’ भनेर कसैले त्यसको भाउ घटाउने काम अवश्य पनि गर्दैन नै । फ्रोजन डिजर्टलाई पनि प्रस्ट रुपमा ‘फ्रोजन डिजर्ट’ नै भनेर बिक्री वितरण गर्नुपर्छ । फ्रोजन डिजर्टलाई आइसक्रिम नै हो जस्तो गरी लेबल अस्पष्ट बनाएर वा झुक्याएर बिक्री वितरण गर्नु चाहिं उपभोक्ता अधिकारको विरुद्ध हुनजान्छ ।

आइसक्रिम वा फ्रोजन डिजर्टका आआफ्नै विशेषताहरू छन् । यी दुई पदार्थमध्ये आइसक्रिम नै सबैभन्दा पहिले अस्तित्वमा आएको र सामान्य भाषामा भन्दा ओरिजिनल पदार्थ हो । कम्पनीहरूले वनस्पतिबाट उत्पादित सस्तो तेल प्रयोग गरेर उपभोक्ताको स्वास्थ्य सुधार गर्ने उद्देश्य राखेर फ्रोजन डिजर्टको उत्पादन गरेका पक्कै होइनन् । बरू सस्तो वनस्पति तेल प्रयोग गरेर कम लागतमा उत्पादन गरी बढी मुनाफा कमाउने उद्देश्यले कम्पनीहरूले फ्रोजन डिजर्ट बिक्री वितरण गर्न सुरु गरेका हुन् । त्यसैले दूधको क्रिम वा नौनी प्रयोग गरी बनाइएको (अलि महँगो हुनसक्ला) आइसक्रिम खाने वा वनस्पति तेल प्रयोग गरेर बनाइएको फ्रोजन डिजर्ट खाने त्यो छनोट गर्ने अधिकार उपभोक्ताकै हो ।

फ्रोजन डिजर्टलाई आइसक्रिम नै हो जस्तो गरी लेबल अस्पष्ट बनाएर वा झुक्याएर बिक्री वितरण गर्नु चाहिं उपभोक्ता अधिकारको विरुद्ध हुनजान्छ ।

अन्तमा

नेपालमा बर्सेनि कति आइसक्रिम वा फ्रोजन डिजर्ट उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन । तर, नेपालमा वार्षिक झण्डै ४०० मेट्रिक टन आइसक्रिम र फ्रोजन डिजर्ट आयात हुने गरेको सरकारी तथ्यांकले देखाउँछ । यतिका परिमाणमा आयात हुने र उल्लेख्य परिमाणमा देशभित्रै उत्पादन हुने आइसक्रिम र फ्रोजन डिजर्टको न्यूनत्तम गुणस्तर मापदण्ड नेपालमा अझै निर्धारण हुन सकेको छैन । आइसक्रिम र फ्रोजन डिजर्ट जस्तो ठूलो परिमाणमा उत्पादन, आयात र बिक्री वितरण नहुने भए तापनि गुँदपाक र पुष्टकारीको मापदण्ड निर्धारण गर्न भ्याउने सरकारलाई आइसक्रिम र फ्रोजन डिजर्टको मापदण्ड निर्धारण गर्ने केले रोकेको हो, बुझिनसक्नुछ ।

कथं कदाचित सरकारी मापदण्ड बने तापनि त्यसअनुरुपको दुरुस्त अनुगमन होला भनेर उपभोक्ता विश्वस्त भएर बस्नसक्ने अवस्था अझै छैन । त्यसैले आफूले खरिद गर्न वा सेवन गर्न चाहेको वस्तुका बारेमा उपभोक्ता आफैं सचेत हुनु जरुरी छ । उत्पादकहरूको गैरजिम्मेवारी, नियामक निकायको लाचारी र उपभोक्ताको अचेतनताको कारण आइसक्रिम खरिद वा सेवन गर्न चाहने उपभोक्ताले यथेष्ठ मात्रामा दूधको क्रिम राखेर बनाइएको आइसक्रिम नै होला भन्ने ठानेर अन्जानमै वनस्पति तेल राखेर बनाइएको फ्रोजन डिजर्ट खरिद वा सेवन गर्न बाध्य हुनुपर्ने विडम्बनापूर्ण अवस्थाबाट उपभोक्ताहरूलाई जोगाउन सम्बन्धित सरोकारवालाहरूको ध्यान जान अनुचित तरिकाले ढिला हुँदै गइरहेको छ ।

[email protected]

(लेखक डेरी विशेषज्ञ हुन् र दुग्ध विज्ञान प्रविधिमा अमेरिकाबाट विद्यावारिधि गरेका छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर