गगन थापा जिताउन मतदाता सूचीबाट नाम हटाउन खोजिएको भन्दै निर्वाचन कार्यालयमा आन्दोलन (भिडिओ)
नगर कार्यपालिका सदस्यको नाम समेत हटाउन खोजियो, कागजपत्र बोकेर गएका आक्रोशित मतदाताले गरे तोडफोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै बुढानिलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उद्देश्ये मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर ७ सय मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।
आन्दोलनकारीले नेपाली कांग्रेसको इसारामा गगन थापा जिताउन किर्ते उजुरीकर्ता खडा गरेर ७ सय बढी मतदातालाई मतदानबाट बन्चित गर्न खोजेको आरोप लगाएका छन् । पटकपटक मतदान गरिसकेका मतदाता र जनप्रतिनिधिलाई समेत किर्ते मतदाता भनेर बोलाइएको उनीहरुको भनाइ छ ।
निर्वाचन कार्यालयले कागजपत्र लिएर आउन सूचित गरेका ७ सयजना मध्ये बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य मेन्दो शेर्पा समेत छिन् । २०७४ सालदेखि नै मतदान गरिरहेका मतदातालाई समेत कार्यलयले झिकाएको वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।
७ सय भन्दा बढी मतदातालाई राजनीतिक पार्टीको नजिक रहेका कारण कार्यालयमा बोलाइएपछि बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाको नेतृत्वका वडाध्यक्ष र जनप्रतिनिधिहरु पनि पुगेका थिए । उनीहरुले कसैले उजुरी गरेको आधारमा मतदातालाई कागजपत्र लिएर कार्यालयमा बोलाइने हो भने जसले पनि उजुरी हाल्न सक्ने र दलहरुबीच प्रतिस्पर्धा हुने बताए ।