मिसिल बने पाँचौं मिस्टर भक्तपुर, रोजिनाले जितिन् दोस्रो लेडिज फिजिक्स – Nepal Press

मिसिल बने पाँचौं मिस्टर भक्तपुर, रोजिनाले जितिन् दोस्रो लेडिज फिजिक्स

भक्तपुर । मध्यपुर भीआरका मिसिल जोशी शारीरिक सुगठनतर्फ पाँचौं मिस्टर भक्तपुर बन्न सफल भएका छन् ।

पाँचौं मिस्टर भक्तपुर तथा दोस्रो महिला फिजिक्स प्रतियोगिताको ग्राण्ड फिनालेमा विधागत पाँच उत्कृष्ट शारीरिक सुगठकलाई पछि पार्दै मिसिल भक्तपुर च्याम्पियन बनेका हुन् ।

भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताका विजेता उनले उपाधिसँगै एक लाख नगद पुरस्कार हात पारेका छन् । ७५ केजी तौल समूहको विजेता भई ग्राण्ड फिनाले पुगेका मिसिलले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सीधै इन्ट्री पाएका छन् ।

प्रतियोगितामा अजिमा फिटनेसका हरि थापा दोस्रो भए । ७५ केजीमाथिको तौल समूहका विजेता हरिले ४० हजार नगद पुरस्कारमा चित्त बुझाए ।

मध्यपुर भीआरकै दिनेश खड्गी तेस्रो स्थानमा रहे । ६५ केजी तौल समूहका विजेता उनले ट्रफीसँगै नगद ३० हजार हात पारे । त्यस्तै जिम ब्रो फिटनेसका श्रीजन श्रेष्ठ चौथो, मध्यपुर भीआरकै जलबहादुर चौधरी पाँचौं र दिनेश गोसाईं छैटौं भए । श्रेष्ठ, चौधरी र गोसाईंले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । श्रेष्ठ ७० केजी, चौधरी ६० केजी र गोसाईं ५५ केजी तौल समूहका विजेता थिए ।

६ वटा तौल समूहको प्रतियोगिताका विजेताहरुबीच ग्राण्ड फिनाले भएको थियो ।

त्यस्तै दोस्रो महिला फिजिक्सको उपाधि द फिटनेस टेम्पलकी रोजिता खायमलीले जितिन् । उनी चार प्रतियोगीलाई पछि पार्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । रोजिनाले उपाधिसँगै ३० हजार रुपैयाँ नगद पुरस्कार हात पारेकी छन् ।

क्लव डेस्पाराडोकी तारा खाइजू उपविजेता घोषित भइन् । उनले ट्रफीसँगै २० हजार रुपैयाँ नगद पाइन् । अल्टिमेट फिटनेसकी अरुनिमा अधिकारी तेस्रो भइन् । उनले नगद पुरस्कार १० हजारमा चित्त बुझाइन् ।

द फिटनेस टेम्पलकी जुनिता कोजू र अल्टिमेट फिटनेसकी सृजना घिसिङ पाँचौं भइन् । जुनिता र सृजनाले नगद पुरस्कार जित्न सकिनन् ।

प्रतियोगितामा ५ महिलासहित ४६ जना शारीरिक सुगठनका खेलाडीहरुको सहभागिता रहेको आयोजक संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत मिस्टर भक्तपुर घोषित मिसिल र महिला फिजिक्सकी विजेता रोजिनालाई भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघका संस्थापक अध्यक्ष बिनेश जोन्छे परिवारको तर्फबाट व्यक्तिगत पाँचपाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई भक्तपुर थिमि नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठले उपाधि तथा नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वेभ फिजिकल फिटनेसका जयराम त्वायनाले उचालेका थिए । त्यस्तै पहिलो महिला फिजिक्सको उपाधि भने अजिमा फिजिकल फिटनेसकी सनम मूलगुठीले जितेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर