नक्सा स्वीकृत हुँदा भनिएविपरीत नगर्न काठमाडौं महानगरको अनुरोध – Nepal Press

नक्सा स्वीकृत हुँदा भनिएविपरीत नगर्न काठमाडौं महानगरको अनुरोध

२७८ वटा भवनको नक्सा स्वीकृत

काठमाडौँ । काठमाडौँ महानगरले नक्साअनुसार नै बेसमेन्ट, सेमीबेसमेन्ट र जमिन तला सञ्चालनमा ल्याउन महानगरको अनुरोध गरेको छ । महानगर आज व्यवसायिक भवनको बेसमेन्ट सेमी बेसमेन्ट र जमिन तलाको प्रयोग अनुगमन गर्न बिहान बानेश्वरमा पुगेको थियो ।

नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजन विपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख साह भने ‘अब उप्रान्त यस्तो गर्न नपरोस्, सबैले आफै‌ं बुझेर अनाधिकृत रुपमा बनाइएका संरचना आफैँ हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ । त्यहीअनुसार निर्माण र प्रयोग गरिदिनुहोला ।’

महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ् नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि ०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार यी आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो । यी भवनको बेसमेन्ट वा सेमी बेसमेन्टमा कि पार्किङ् गराउनुपर्छ कि भण्डार बनाउनु पर्छ । तर यीमध्ये अधिकांशले अन्य प्रयोजनमा ठाउँलाई प्रयोगमा ल्याएका छन् ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार आज अल्फाविटासँगै बानेश्वरबाट शंखमुल जाने सडकमा रहेको बर्गर हाउसलाई कारबाही गरिएको छ । त्यस क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करीव ५ ठाउँमा पसल, रेष्टुरेन्टजस्ता व्यवसाय सञ्चालनमा छन् ।

उनीहरुलाई प्रयोजनअनुरुप संरचना प्रयोग गर्न सचेत गराइएको छ । आजको कारवाहीका विषयमा जानकारी दिँदै पाण्डे भने, ‘वडा नं. ९ मा मुक्ति विकास बैङ्क भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *