नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल – Nepal Press

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२÷२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको छ । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेका छन् ।

नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेका छन् ।

सन् २०२१÷२०२२ को अध्यक्ष अमुन थापा थिए । सस्तोडिलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समेत रहेका थापा मञ्चको गभर्निङ काउन्सिलमा सामेल छन् । थापासँगै गभर्निङ काउन्सिलमा पूर्व अध्यक्षहरू रोहित गुप्ता र चाङ अग्रवाल रहेका छन् ।

मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित भएका छन् ।

यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताए । ‘सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौँ’ उनले भने ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर