श्रीलंका राष्ट्रपति चुनाव: विपक्षी दलका प्रेमादासले किन गरे उम्मेदवारी फिर्ता ? – Nepal Press

श्रीलंका राष्ट्रपति चुनाव: विपक्षी दलका प्रेमादासले किन गरे उम्मेदवारी फिर्ता ?

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा जुलाई २० मा राष्ट्रपति चुनाव हुँदैछ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएसँगै बुधबार श्रीलंकाको सदनले बहुमतको आधारमा नयाँ राष्ट्रपति चयन गर्न लागेको हो ।

यसैबीच श्रीलंकामा आर्थिक संकटविरुद्ध प्रदर्शन सुरु भएयता नै आफू श्रीलंकाका राष्ट्रपतिको जिम्मेवारी लिन तयार रहेको बताउँदै आएका विपक्षी दल समगी जन बलवेगयाका नेता सजिथ प्रेमादासले भने राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेको घोषणा गरेका छन् ।

प्रेमादासले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै अब उनको समर्थन दुल्लास अल्हाप्परुमालाई हुने जनाएका छन् ।

‘मलाई माया गर्ने मेरो देश र मैले माया गर्ने जनताको भलाइको लागि म राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिन्छु । दुल्लास अलहाप्परुमालाई चुनाव जिताउन समगी जन बलवेगया र हाम्रो गठबन्धनले कडा मेहनत गर्नेछ’, उनले लेखेका छन् ।

प्रेमदासाले उम्मेदवारी फिर्ता लिएपछि अब कार्यबाहक राष्ट्रपति रनिल विक्रमासिंघे, श्रीलंका पोदुजाना पेरामुनाका दुल्लास अल्हाप्परुमा र जनता विमुक्ति पेरामुनाका नेता अनुरा कुमाराबीच राष्ट्रपतिको लागि प्रतिस्पर्धा हुनेछ ।

श्रीलंकामा ४४ वर्षपछि गोप्य मतदानद्वारा राष्ट्रपति चयन हुन लागेको छ । सन् १९७८ यता श्रीलंकामा पहिलोपटक जनादेशमार्फत नभई सांसदहरूको गोप्य मतदानबाट राष्ट्रपति निर्वाचित हुन लागेको हो । २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले नयाँ राष्ट्रपति पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर