मेलम्ची सुरुङ परीक्षणमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिइने (१७ निर्णयसहित) – Nepal Press
मन्त्रिपरिषद् बैठक

मेलम्ची सुरुङ परीक्षणमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिइने (१७ निर्णयसहित)

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई राहतस्वरूप क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले इन्जिनियर शतिसकुमार गोहित र सवारी चालक राधाकृष्ण थापामगरको परिवारलाई क्षतिपूर्तिस्वरूप ५/५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै जुरे पहिरोपीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय पनि गरिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ ।

बैठकले विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तिय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले दुई वर्ष थप गर्ने, पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिन अपुग ७ अर्ब ऋण र पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रूपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत उपलब्ध गराउने पनि निर्णय गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *