पहिलोपटक असफल भएकी पुष्पा भुसाल दोस्रो प्रयासमा ६ महिने उपसभामुख – Nepal Press

पहिलोपटक असफल भएकी पुष्पा भुसाल दोस्रो प्रयासमा ६ महिने उपसभामुख

काठमाडौं । कांग्रेसकी सांसद पुष्पा भुसाल दोस्रो प्रयासमा उपसभामुखमा निर्वाचित भएकी छन् । साढे २ वर्षदेखि रिक्त रहेको संवैधानिक पद उपसभामुखमा सत्तारुढ गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । सम्भव त निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा नै संघीय निर्वाचन भयो भने उनले ६ महिना प्रतिनिधि सभाको उपसभामुखको भूमिका निर्वाह गर्न पाउनेछिन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भएकी भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सहयोगमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि सघाएको छ ।

२०७४ सालको उपभामुख निर्वाचनमा ५८ मत पाएर पराजित भएकी भुसालले यस पटक भने २ सय ४२ मत खसेकोमा १ सय ४८ मत प्राप्त गरेकी छन् । तत्कालिन नेकपा (एमाले)बाट उपसभामुख बनेकी डा.शिवमाया तुम्बाहाङफेले २ सय १ मत पाए पनि अहिले भने सोही पार्टीबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराईले भने ९३ मत प्राप्त गरेकी छन् ।

कांग्रेसको सचेतक भूमिकामा रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि राजनीतिमा सक्रिय रुपमा संलग्न छिन् । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समयसम्म काम गरेको अनुभव छ । उनी नेपाल महिला संघको महासचिवसमेत भइसकेकी छन् ।

उपसभामुख भुसालले विश्वविद्यालयको प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई संगसंगै अघि बढाइरहेकी थिईन । त्रिभुवन विश्वविद्यालयमा उनले १७ वर्ष अध्ययापन गराइन । कानुन व्यवसायमा पनि सक्रिय रहेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्यसमेत रहेर काम गरिसकेकी छन् ।

भुसाल २०५६ सालको निर्वाचनमा पराजित भए पनि २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा भने अर्घाखाँचीबाट निर्वाचित भएकी थिईन । फेरी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि पराजित हुन पुगिन । संविधान निर्माणमा संविधान मस्यौदा समितिमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

स्रोतः संसदीय मालिला पत्रकार समाजले प्रकाशन गरेको ‘हाम्रा माननीय’ पुस्तक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर