नेदरल्याण्डका नागरिक हाफपाइन्ट लगाएर मन्त्रीसँग औपचारिक छलफलमा ! – Nepal Press

नेदरल्याण्डका नागरिक हाफपाइन्ट लगाएर मन्त्रीसँग औपचारिक छलफलमा !

इटहरी । नेदरल्यान्डबाट आएका एक नागरिक प्रदेश १ का कृषि मन्त्रीसँग छलफलमा सहभागी भएको एउटा तस्बिरले अहिले चर्चा पाइरहेको छ । मन्त्रालयमा नै भएको औपचारिक छलफलमा ती नागरिक टिसर्ट र हाफपाइन्ट लगाएर बसेका थिए ।

आफूलाई कृषि प्राविधिक बताउने हाबेल क्लेंग्स्टाले बुधबार कृषिमन्त्री झलकबहादुर मगरसहित मन्त्रालयका प्रतिनिधिहरूसँग भेटघाट गरेका हुन् । सरकारका उच्चपदस्थहरूसँगको भेटघाटमा अमर्यादित पोशाक लगाएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

क्लेंग्स्टा दमकका सुदीप गौतम सञ्चालक रहेको पाथिभारा कृषि फारमको अवलोकनामा आएका थिए । त्यस क्रममा उनले मन्त्रीसँग भेट्ने चाँजो मिलाएका हुन् ।

उक्त भेटका विषयमा जानकारी लिन सम्पर्क गर्दा मन्त्री मगरले कार्यक्रममा भएकाले बोल्न समय नभएको बताए ।

प्रदेश १ सरकारका पूर्वप्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले हाफपाइन्ट लाएर भेट्न नहुने भन्ने लिखित प्रोटोकल नभए पनि त्यो नैतिक प्रश्न भएको टिप्पणी गरे ।

‘सामान्य पार्टीको कार्यक्रममा जाँदा त औपचारिक पोशाकको कुरा हुन्छ भने मन्त्रालयमा कसरी प्रस्तुत हुने भनेर आफैं बुझ्नुपर्ने कुरा हो,’ उनले भने ।

आफ्नो पालामा पनि केही विदेशी नागरिकहरू हाफपाइन्टमा आउने गरेपछि आफूले नियन्त्रण गरेको कार्कीको भनाइ छ ।

उनले भने, ‘एकपटक दुईजना विदेशी हाफ पाइन्टमा आए । मैले क्वार्टरमा आउँदा हाफपाइन्टमा सामान्य भए पनि मन्त्रालयमै आउँदा भने औपचारिक पोशाकमा आउन भनेको थिए । उनीहरूले पालना गरेका थिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *