लगातार खराब नतिजाबीच सन्दीपको आलोचना: कप्तानको भूमिका ब्याटिङमा बढी हुन्छ कि बलिङमा ? – Nepal Press

लगातार खराब नतिजाबीच सन्दीपको आलोचना: कप्तानको भूमिका ब्याटिङमा बढी हुन्छ कि बलिङमा ?

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटमा खराब प्रदर्शनपछि नेपालको विश्वकपको विश्वस्तर छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको निरन्तरता जोखिममा पर्दै गएको छ ।

विश्वकप लिग- २ का सहभागी ७ टोलीमध्ये नेपाल १७ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा छ । ३६ खेलबाट ४४ अंक भएको ओमान शीर्षस्थानमा छ ।

स्कटल्यान्डको २१ खेलबाट ३०, यूएईको २२ खेलबाट २६, अमेरिकाको २४ खेलबाट २३ र नामिबियाको १६ खेलबाट १६ अंक रहेको छ । पुछारमा रहेको पपुआ न्युगिनीको २० खेलबाट २ अंक रहेको छ ।

तालिकाको शीर्ष तीन स्थानमा रहने टोली विश्वकपको विश्वस्तर छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले विश्वकपको विश्वस्तरको छनोटमा पुग्न प्ले अफ खेल्नुपर्नेछ। ६ टोली सहभागी हुने प्ले अफबाट २ टोलीमात्र विश्वकप छनोटमा पुग्नेछन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न कम्तिमा विश्वकपको विश्वस्तरको छनोटमा पुग्नु अनिवार्य देखिन्छ । शीर्ष तीनको लक्ष्यसहित हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल यतिबेला स्कटल्यान्डमा छ ।

प्रतियोगिताकै त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पहिलो खेल सोमबार नामिबियासँग खेल्यो र ४० रनको हार पनि ब्यहोर्‍यो । २२१ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमा समेटिएपछि यतिबेला कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेको आलोचना भइरहेको छ । दुवैलाई आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रश्न उठिरहेको छ ।

पछिल्लोपटक सन्दीप र पुबुदले आ-आफ्नो जिम्मेवारी लगभग एउटै समयमा पाएका हुन् । गत डिसेम्बरमा पुबुदुलाई प्रशिक्षक नियुक्त गर्दा नेपाली क्रिकेट खेलाडीमाथि अनुशासनको कारबाहीका कारण विवादमा थियो ।

ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरिएको थियो । खेलाडीहरु आन्दोलनमा उत्रिए पनि पुबुदु आएसँगै सबै कुरा तत्कालका लागि हल भएजस्तै भयो । सन्दीप कप्तानमा कायम रहे । तर, नेपाली क्रिकेटभित्रको असन्तुष्टि बढी नै रह्यो प्रत्यक्ष परोक्ष रुपमा । लयमै रहेका ज्ञानेन्द्र मल्ल टोलीमा पर्न छाडेका छन् । यसलाई आफूविरुद्ध उत्रिएका खेलाडीमाथि नेपाल क्रिकेट संघ (क्यान) ले इगो साँधेको भनेर पनि टिप्पणी हुने गरेको पाइन्छ ।

सबैभन्दा उल्लेखनीय खेलाडीमाथि गरिएको अनुशासन कारबाहीयता नेपाली टोलीले चित्तबुझ्दो प्रदर्शन गर्न सकेको छैन । टी- २० विश्वकपको एसियाली छनोटबाटै नेपाली टोली अगाडि बढ्न सकेन ।

विश्वकप लिग- २ को अवस्था पनि सन्तोषजनक छैन । नेपालको अधिकांश हारमा कारण ब्याटिङ नै देखिएको छ । कप्तानका रुपमा सन्दीपले भूमिका निर्वाह गर्न नसकेका हुन् कि टीमको हारमा उनको जिम्मेवारी छैन ? कप्तानका रुपमा टोलीको ब्याटिङ प्रदर्शनमा भूमिका कस्तो रहन्छ ?

सन्दीप आफै पनि ब्याट्सम्यान होइनन् । उनी बलिङ स्पेसलिस्ट हुन् । नेपाली टोलीका प्रायः खेलमा बलिङको केन्द्रमा सन्दीप नै छाउने गरेका छन् । सोमबारकै खेलमा पनि नामिबियालाई २२० रनमा समेटेर नेपालले जितको आधार सहज बनाएको थियो ।

फिल्ड प्लानदेखि कुन बलरलाई कतिबेला बलिङमा उतार्ने भन्ने निर्णय कप्तानले गर्ने भएकाले उनको निर्णय महत्वपूर्ण हुन्छ । ब्याटिङमा प्रायः ब्याट्सम्यानलाई आफ्नो रोलक्रम थाहा हुन्छ ।

कुन अवस्थामा कसरी खेल्ने भनेर उनीहरुलाई कप्तानले भनिरहनै पर्दैन । तर, नामिबियाविरुद्ध नेपालले ब्याट्सम्यानबाट गतिलो साथ पाएन । ५ विकेट झरिसकेको अवस्थामा पनि खेल नेपालकै हातमा देखिएको थियो । त्यो अवस्थामा १४ ओभर बाँकी थियो भने ९१ रन आवश्यक थियो ।

क्रिजमा थिए सोमपाल कामी र आरिफ शेख । अदिल खान र करन केसीले जस्ता विस्फोटक ब्याट्सम्यान क्रिजमा आउन बाँकी नै थियो । जसले एक ओभरमै खेलको नक्सा बदल्न सक्थे ।

तर, नेपाली ब्याट्सम्यानहरु ओभरको ५ बलमा रन नहान्ने र एक बलमा छक्का/चौका प्रहार गर्ने मनस्थितिमा देखिए । नेपालले यही ‘माइन्ड सेट’ बाट धोका पायो । ३४ रन बनाएका देव खनालले ६५ बल सामना गरेका थिए ।

यस्तै आरिफले ८४ बलमा ५० रन बनाएका थिए । कहिलेकाहीं साझेदारी बनाएर खेल्नुपर्ने अवस्थामा स्ट्राइक रेट ह्वात्तै कम हुन सक्छ । तर, प्रतिओभर ७ रन आवश्यक भइरहेको अवस्थामा लगातार डिफेन्सिभ खेल्दा त्यसले टीमको नतिजालाई हानि पुर्‍याउनसक्छ ।

नामिबियासँग यस्तै भएको थियो । त्यही खेलमा नामिबियाले १४४ रन जोड्दा ६ विकेट गुमाएको अवस्थामा सातौं विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । स्कटल्यान्डमा आउनुअघि नेपालले क्यानडामा घरेलु टोलीसँग खेलेको एकदिवसीय खेलमा पनि उत्तिकै खराब प्रदर्शन गरेको थियो । क्यानडालाई १८८ रनमा सीमित गरे पनि नेपाली टोली १०४ रनमा समेटिएको थियो ।

प्रतियोगिताअन्तर्गत नेपालले अब बुधबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताकै सबैभन्दा बलियो टोली मानिएको स्कटल्यान्डसँगको खेल नेपालका लागि आफ्नो स्तर निर्धारण गर्न गतिलो परीक्षण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर