राप्रपाका महिलाको बैठकमा बबण्डर, कुन्ती शाही नै कुटपिटमा उत्रेको आरोप – Nepal Press

राप्रपाका महिलाको बैठकमा बबण्डर, कुन्ती शाही नै कुटपिटमा उत्रेको आरोप

मु छुट्याउन गएको हो, कुटपिट गरेको छैन : महामन्त्री शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको बैठकमा रडाको मच्चिएको छ । पार्टीकी महामन्त्री कुन्ती शाही नै भौतिक आक्रमणमा उत्रिएको संगठनकी अध्यक्ष अञ्जना रावलले आरोप लगाएकी छन् ।

राप्रपाले महिला संगठनको अध्यक्षमा असार २ गते रावललाई नियुक्ति दिएको थियो । तर, संगठनको एउटा पक्ष यसमा सन्तुष्ट थिएनन् ।

आयातित व्यक्तिलाई अध्यक्ष नमान्ने उनीहरूको अडान थियो । सबैलाई मिलाएर नसकेपछि रावलले संठगन विस्तार गर्न सकेकी थिइनन् । संगठनमा उनी एक्लो पदाधिकारी थिइन् ।

यसैबीचमा राप्रपाले महिला संगठनलाई महिला हिंसाविरुद्धमा धर्ना दिन र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन निर्देशन दियो । त्यसलाई कार्यान्वयन गराउनका लागि आज रावलले संगठनको अनौपचारिक बैठक डाकेकी थिइन् । राप्रपाको पार्टी कार्यालयमा भएको सोही बैठकमा कुटाकुट भएको हो ।

आज बैठकबाट महिला हिंसा विरोधी अभियानको स्लोगन बनाउने र फन्ड जुटाउने विषयमा छलफल गर्ने रावलको योजना थियो । तर कुमारी तामाङले रावललाई अध्यक्ष नमान्ने बताउँदै आफैँले बैठकको अध्यक्षता गर्न खोजिन् । उनले महिला संगठनको साटो पार्टीको महिला विभागले नै अभियान अघि बढाउनुपर्ने प्रस्ताव गरिन् ।

यही बीचमा तामाङ पक्षका केही महिलाहरूले आफ्नो पक्षका महिलालाई हातपात गरेको रावलको आरोप छ ।

‘उहाँले आफूसँग संगठनबाहिरका ५–७ जना ल्याउनु भएको थियो,’ रावलले भनिन्, ‘उनीहरूले हातपात गरेपछि तनाव सुरु भएको हो ।’

बैठकमा बबाल भएको खबर कुन्ती शाहीसम्म पुर्‍याइयो र शाही तुरुन्तै बैठकमा आइन् । उनी आएपछि तनाव घट्नुको साटो झनै बबण्डर भयो । शाही आफैँले निर्मला न्यौपानेलाई कुटेको र भुत्ल्याएको रावलको दाबी छ ।

‘उहाँ आफैँ कुटपिटमा उत्रिनुभयो, कुर्सीसमेत उज्याएको मैले नै देखेँ’ उनले भनिन् ।

घटनापश्चात् रावलले पार्टी अध्यक्षलाई र अनुशासन विभागलाई ज्ञापनपत्र बुझाएकी छन् ।

ज्ञापनपत्रमा कुन्ती शाही र कुमारी तामाङलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

म छुट्याउन गएको हो, कुटपिट गरेको छैन : महामन्त्री शाही

महामन्त्री कुन्तीकुमारी शाहीले भने आफू आक्रमणमा संलग्न नभएको दाबी गरेकी छन् । उनले नेपाल प्रेससँग भनिन्, ‘संघको बैठक रहेछ । म कार्यालयको माथिल्लो तलामा बसेकी थिएँ । तल झगडा पर्‍यो भन्ने सुनेर छुट्याउन गएकी हुँ ।’

उनले आफ्नो आक्रमणमा संलग्नता रहेको पुष्टि गर्न चुनौती दिइन् ।

उनले भनिन्, ‘यदि उनले त्यस्तो आरोप लगाएकी भए म आक्रमणमा संलग्न भएको सीसीटीभी फुटेज देखाउनुपर्‍यो नि ।’

उनले रावल अध्यक्ष नै नभएको दाबी गरिन् । उनले भनिन्, ‘को अध्यक्ष ? कहाँको अध्यक्ष ? सक्रिय सदस्य नभएको मान्छे कसरी महिला संघको अध्यक्ष हुनुभयो ? दुई पटक पदाधिकारी नभएर अध्यक्ष हुनै पाइँदैन नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर