चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन समस्या समाधान गर्न सरकार तयार – Nepal Press

चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन समस्या समाधान गर्न सरकार तयार

समस्या पहिचान र समाधानका लागि सुझाव दिन समिति गठन गरिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको जनाएको छ ।

चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बिहीबार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो जानकारी गराएका हुन् ।

बिरगंजलगायतका सीमा नाकामा विद्यमान रहेको कार्यबोझ घटाई चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन हाल देखिएका व्यवहारगत र नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको उनले बताए ।

मन्त्रीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आयात निर्यात कार्यलाई सहज, सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरी भई राजश्वसमेत बढ्ने बताएका छन् । अन्तरनिकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्नुपर्ने मन्त्री वडूको भनाई थियो ।

उनले राजधानी नजिकै पर्याप्त र सुविधा सम्पन्न व्यापार पूर्वाधारसहित चैत २२ गतेदेखि सञ्चालनमा आएको सुख्खा बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सम्बद्ध पक्षको प्रतिनिधित्व रहने गरी अध्ययन समिति बनाउनसमेत निर्देशन दिएका छन् ।

यसअघि मन्त्री वडूले असार १३ गते चोभार सुख्खा बन्दरगाहको स्थलगत अवलोकनका क्रममा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चाल्नुपर्ने कदम यथाशिघ्र सुरु गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए ।

बिहीबारको छलफल कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीको सहजता र पूर्वाधारको अवस्थानुसार निश्चित वस्तु तोकेर चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन सकिने धारणा राखे ।

यसैगरी वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग, भन्सार एजेन्ट संघ, समुन्द्रपार निकासी पैठारी संघ र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड लगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी एउटा समिति बनाइने जानकरी गराए ।

कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह र कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायीले सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल सरकारबाट उपलब्ध गराउनुपर्ने सेवा सुविधाका विषयमा सुझाव दिएका थिए ।

उनीहरुले एलसी खोल्दा चोभारलाई नै भन्सार बिन्दु तोकेर सिधै सामान आयात गर्न अनुमति दिने, अतिरिक्त शुल्क नलिई थप सेवा सुविधा दिने, बाटोमा सामानको सुरक्षालगायतका विषय सुनिश्चित गर्न सके आफूहरुलाई चोभार सुख्खा बन्दरगाहको प्रयोग गर्न सहज हुने धारणा राखेका छन् ।

छलफलमा भन्सार विभाग, भन्सार कार्यालय चोभार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल बैंक लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, भन्सार एजेन्ट महासंघ, समुन्द्रपार निकासी पैठारी संघ, नेपाल फेट फरवार्डर्स एशोशिएसन, सिपिङ लाइनलगायतका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर