सचिव बिदामा गएपछि विपद् व्यवस्थापन सामग्री खरिदको १० लाख बजेट फ्रिज – Nepal Press

सचिव बिदामा गएपछि विपद् व्यवस्थापन सामग्री खरिदको १० लाख बजेट फ्रिज

कैलाली । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खोज तथा उद्धार सामग्री खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले आवश्यक सामग्री खरिद गर्न पहल पनि सुरु गरेको थियो । तर, असार १५ अघि मन्त्रालयका सचिव कमलराज ढकाल बिदामा गए ।

उनी बिदामा गएपछि सामग्री खरिद गर्ने काम प्रभावित भयो । मन्त्रालयले लागत अनुमान, स्टमेट, दररेट, समेत तयार भइसकेको थियो । सबै प्रक्रिया पुरा गरेर टिप्पणी उठाउन भन्दा अघि सचिव ढकाल बिदामा गए । उनी मन्त्रालयमा नभएपछि काम प्रभावित भएको मन्त्रालय स्रोतले बताएको छ ।

‘अब समय छैन । खाता बन्द भइसकेको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘सचिव बिदामा गएकाले काम हुन सकेन । रकम फ्रिज भयो ।’
मन्त्रालय स्रोतका अनुसार ११ गते सचिव ढकाल काठमाडौं गएका हुन् । शनिबार फर्किने भन्दै उनी बिदामा बसेका थिए । तर, त्यो बेला सम्म सामाग्री खरिद हुन सकेन र रकम फ्रिज भयो ।

सुदूरपश्चिम प्रदेशमा अब बाढी र पहिरोले जन जीवन प्रभावित हुने पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा यस वर्षको वैशाखदेखि असार तेस्रो सातासम्म चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश, जनावर आतङ्क, बाढी पहिरो, डुबान लगायतका एक सय २६ घटना भएका छन् ।

ती घटनामा १३ जनाले ज्यान गुमाएका छन् । ४८ जना बेपत्ता भएका छन् । विपद्का कारण अझै प्रभाव पर्न सक्ने र यस्तो बेला सामाग्री नहुँदा समस्या हुन सक्ने मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

मन्त्रालयले विपद् व्यवस्थापनका क्रममा खोज तथा उद्धारका लागि आवश्यक पर्ने झोला, टर्च लाइट, गतिशील डोरी, पहिलो सहायतका बक्स, गोताखोर सुट, रक हेल्मेट, स्टे«चर लगायतका सामग्री खरिद गर्ने तयारी गरेको थियो ।तर, कुनै पनि सामाग्री खरिद नहुँदै रकम फ्रिज भएको छ ।सशस्त्र प्रहरीले पनि मन्त्रालयलाई आवश्यक सामग्रीको लागि निवेदन पेस गरेको थियो । अब विपद्का बेलमा सशस्त्र प्रहरीलाई पनि आवश्यक सामाग्री अपुग हुने भएको छ ।

केही सामाग्रीहरू अहिले पनि मन्त्रालयले भण्डारण गरेर राखेको छ। चालु आर्थिक वर्षमा मन्त्रालयमा नभएका सामाग्री खरिद गर्ने योजना बनाइएको थियो ।

चालु तर्फको रकम खर्च गर्न असार १५ गतेभित्र सबै प्रक्रिया पुगेको हुनुपर्छ । तर, यहाँ प्रक्रिया पुरा नभएका कारण विनियोजन गरेको रकम पनि फ्रिज भएको छ ।

यस विषयमा सचिव ढकालसँग बुझ्न खोज्दा उनको फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *