खाजा रकम वृद्धि गर्न अनेरास्ववियुको माग – Nepal Press

खाजा रकम वृद्धि गर्न अनेरास्ववियुको माग

हेटौँडा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हेटौँडा उपमहानगरपालिकाले विद्यार्थीलाई दिने खाजा बापतको रकम बढाउन माग गरेको छ ।

हेटौँडाको न्यूज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले हाल दिइँदै आएको खाजा बापतको १५ रुपैयाँलाई वृद्धि गरी कम्तीमा २५ रुपैयाँ दैनिक उपलब्ध गराउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले १५ रुपैयाँमा आजकल केहि पनि नआउने भन्दै २५ रुपैयाँ हुँदा कम्तीमा एउटा अण्डा र चना आउने उल्लेख गरे ।

उनले नगर क्षेत्रको निजी विद्यालयले मनलाग्दी शुल्क लिएको बारे आफूहरूले हेटौँडा उपमहानगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि शुल्क निर्धारण नभएको भन्दै दुःख व्यक्त गरे ।

मकवानपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी शिक्षाको नाउँमा अनावश्यक शुल्क उठाइरहेको भन्दै उनले तत्काल अवैध शुल्क उठाउने काम बन्द गर्न अनुरोध गरे ।

मकवानपुरको सन्दर्भमा विद्यार्थीले सार्वजनिक यातायातमा पाउनुपर्ने ४५ प्रतिशत छुट समेत नपाएको बताउँदै पौडेलले आफूहरूको जायज मागलाई बेवास्ता गरिए कडा आन्दोलन गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर