मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्रै रोपाइँ – Nepal Press

मध्य असारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्रै रोपाइँ

रुपन्देही । मध्य असारसम्म लुम्बिनी प्रदेशमा करिब ३३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ४६ प्रतिशत रोपाइँ भएको यो प्रदेशमा यो वर्ष निकै कम भएको हो ।

किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नभएकाले सिँचाइ अभावमा कम प्रतिशत भान रोपाइँ भएको यसका जानकारहरूको आंकलन छ ।

प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार असार १४ गतेसम्म करिब ३२.७१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । मन्त्रालयले प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।

नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमा धान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यो प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा १७ प्रतिशत मात्रै धान रोपाई हुँदा प्रदेशको दोस्रो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलवस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

प्रदेशमा सबैभन्दा कम धान रोपाइँ हुने रुकुमपूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाई सकिएको छ । रुकुमपूर्वमा धान रोपाई हुने १ हजार ४१९.४२ हेक्टरमध्ये ९ सय २२.६२ हेक्टर क्षेत्रफलमा रोपाई सकिँदा रोल्पामा ४ हजार ३४० हेक्टरमध्ये २ हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा कुल धान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टरमा रोपाई सकिएको छ । अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशत धान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टरमध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

प्युठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा कुल धान खेती हुने ८ हजार ८३६ हेक्टरमध्ये २ हजार ३८५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पामा ७ हजार ७०६ हेक्टरमध्ये २ हजार ६९७.१० हेक्टर क्षेत्रफलमा रोपाई सकिसकेको छ ।

लुम्बिनी प्रदेशमा रहेका तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला धान खेतीका लागि देशकै मुख्य स्थानका रूपमा रहेका छन् । मधेस प्रदेशपछि सबैभन्दा धान खेती हुने प्रदेशका रूपमा यो प्रदेश रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *