अघिल्ला जनप्रतिनिधि हुँदा भर्ना गरिएका कर्मचारी हटाउने होडबाजीमा स्थानीय तह – Nepal Press

अघिल्ला जनप्रतिनिधि हुँदा भर्ना गरिएका कर्मचारी हटाउने होडबाजीमा स्थानीय तह

कैलाली । शुक्रवार घोडाघोडी नगरपालिकाले बजेट ल्याउँदै थियो । उद्घाटन सत्रमा नीति तथा कार्यक्रम र बजेटको जत्तिकै चर्चा कर्मचारी हटाउने विषयले पनि पायो ।

निवर्तमान उपप्रमुख प्रेम कुमारी थापाले पुराना कर्मचारी हटाउने कुराले आफ्नो मन अमिलो भएको बताएकी थिइन् ।

थापाले करारका कर्मचारी हटाउने विषय उद्घाटन सत्रमा उठाएपछि अधिकांशले यस विषयमा जोड दिएका थिए । धेरैले सबैलाई एकै साथ हटाउनु भन्दा उनीहरूको कामको आधारमा व्यवस्थापन गर्न जनप्रतिनिधीहरुलाई सुझाव दिएका थिए ।

अन्तिममा नगरप्रमुख खडक बहादुर रावतले कसैलाई पनि राजनैतिक पूर्वाग्रही भएर नहटाउने आश्वासन दिन्छन् । त्यही कार्यक्रममा रहेका केही करार कर्मचारीहरू केही आश्वस्त हुन्छन् ।

सार्वजनिक कार्यक्रममा नगरप्रमुखले कर्मचारीहरूलाई राजनैतिक पूर्वाग्रहीका आधारमा नहटाउने भन्दै भाषण गरेको दुई दिन अघि नै प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले सबै करारका कर्मचारीहरूलाई साउन १ गते देखि हाजिर नगर्नु नगराउनु भन्दै परिपत्र गरेको खुलेको छ ।

‘घोडाघोडी नगरपालिकाका विभिन्न शाखा/उपशाखा , सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, र आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आगामी आर्थिक वर्ष २०७९/०८० को श्रावण १ गते देखी म्याद थप प्राप्त नुहुँदा सम्म कार्यालयमा हाजिर नगराउन हुन जानकारी गराइन्छ’ असार ८ गते जारी गरेको परिपत्रमा भनिएको छ ।

घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले उनीहरूलाई हटाउने प्रयोजनका लागि यस्तो निर्देशन जारी नगरिएको बताएका छन् ।

‘उनीहरू कोही पनि नहट्न सक्छन् । उनीहरूलाई हटाउने गरी यस्तो पत्र तयार गरिएको होइन’ उनले भने ‘उनीहरूको करार सम्झौता कार्यपालिकाले थप्न सक्छ ।’

घोडाघोडीमा केही कर्मचारीलाई भने नाम नै उल्लेख गरेर सम्झौता नहुने उल्लेख गरिएको छ । कार्यालयका अमिन मोहन भन्डारालाई काम प्रति जबाफदेही नभएको आरोप लगाउँदै पत्र पठाइएको छ । उक्त पत्रमा आगामी साउन १ गते देखि सेवा निरन्तरता नहुने उल्लेख गरिएको छ ।

यता घोडाघोडी नगरपालिकाले जस्तै गौरीगङ्गा नगरपालिकाले पनि म्याद थप नहुँदा सम्मको लागि हाजिर नगर्न नगराउन निर्देशन गरिएको छ । मङ्गलवार प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले पनि घोडाघोडीकै शैलीमा अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हाजिर नगर्न नगराउन भनिएको हो ।

अघिल्लो स्थानीय तहमा घोडाघोडी र गौरीगङ्गा दुवै स्थानीय तहमा प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । अहिले यी दुवै पलिकामा गठबन्धनका उम्मेदवार प्रमुख उपप्रमुखमा विजयी भएका छन् ।

घोडाघोडीमा प्रमुखमा नेकपा एकीकृत समाजवादीको मेयर र उपमेयरमा कांग्रेसका छन् भने गौरिगंगामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका छन् ।

यी दुवै पलिकामा एमालेका प्रमुख र उपप्रमुख हुँदा अघिल्लो पटक आफू निकटका कर्मचारी अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी राखेको भन्दै उनीहरूलाई हटाएर आफू निकटका कर्मचारी राख्न यस्तो गरिएको आरोप लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर