जिल्ला अदालतका काठमाडौंका न्यायाधीश कोइराला निलम्बनमा – Nepal Press

जिल्ला अदालतका काठमाडौंका न्यायाधीश कोइराला निलम्बनमा

काठमाडौं । घूस काण्डको आरोपमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि न्यायपरिषद बैठकले छानबिन समिति गठन परेपछि कोइराला निलम्बनमा परेका हुन् ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र त्यससँग सम्बद्ध तथ्य सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमानदारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख गरिएको छ ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैँतालिस दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सो समयसम्म प्रतिवेदन पेस गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्नेसमेत व्यवस्था रहेको छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा सदस्य रहेका छन् ।

न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुने कानुनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर