जी-सेभेन राष्ट्रको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता, अमेरिकाले ‘एन्टी एयर मिसाइल सिस्टम’ सहयोग गर्ने खुलासा – Nepal Press

जी-सेभेन राष्ट्रको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता, अमेरिकाले ‘एन्टी एयर मिसाइल सिस्टम’ सहयोग गर्ने खुलासा

काठमाडौं । रुसको आक्रमणबाट ठूलो क्षति व्यहोरिरहेको युक्रेनलाई थप सहयोग गर्न जी-सेभेन समूह प्रतिबद्ध देखिएको छ । शक्ति राष्ट्र अमेरिकाले पनि युक्रेनलाई अत्याधुनिक ‘एन्टी एयर मिसाइल’ सहयोग गर्न लागेको जनाइएको छ ।

हाल जर्मनमा जी-सेभेन राष्ट्रहरुको बैठक भइरहेको छ । उक्त बैठकको मुख्य एजेण्डा नै युक्रेनलाई गरिने थप सहयोग रहेको बताइएको छ । तीनदिने उक्त बैठक सक्किएलगत्तै जी-सेभेन राष्ट्रका नेताहरुले भारत, इन्डोनेशिया, सेनेगल र अर्जेन्टिनासँग जलवायु परिवर्तन, ऊर्जा र अन्य विषयमा छलफल गर्ने बताइएको छ ।

जर्मनीमा आइतबारदेखि जी-सेभेन राष्ट्रहरुको बैठक सुरु भएसँगै रसियाले युक्रेनमाथिको आक्रमणलाई झन् तीव्र बनाएको छ ।

बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि नै नेटो र जी-सेभेन राष्ट्रहरु विभाजित होउन् भन्ने कामना गरिरहेको भए पनि त्यसो नहुने बताएका छन् । बाइडेनको भनाइलाई समर्थन गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कुनै पनि नेताहरु नथाक्न अपिल गरेका छन् ।

जी-सेभेन राष्ट्रको सोमबारको बैठकले युक्रेनलाई थप आर्थिक तथा अन्य सहयोग गर्ने आकलन गरिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने प्रभावकारी ढंगमा सहयोग उपलब्ध नगराउँदा रुसले युक्रेनमा थप क्षति गरिरहेको टिप्पणी गरेका छन् । जी-सेभेन राष्ट्रले युक्रेनमा थप के कस्तो सहयोग गर्दैछन् भन्ने सार्वजनिक भई नसके तापनि अमेरिकाले भने युक्रेनलाई अत्याधुनिक ‘एन्टी एयर मिसाइल सिस्टम’ सहयोग गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेको छ ।

गोप्य स्रोतलाई उद्धृत गर्दै एपीले जनाएअनुसार अमेरिकाले नर्वेमा विकसित एन्टी-एयरक्राफ्ट प्रणाली खरीद गरिरहेको छ । जसले मध्यमदेखि लामो दूरीको क्षेप्यास्त्रविरुद्ध रक्षा प्रदान गर्नसक्छ ।

अमेरिकाले युक्रेनलाई प्रदान गर्न लागेको उक्त प्रणाली अमेरिका आफैंले ह्वाइट हाउस र वासिङटन वरपरको संवेदनशील वायु क्षेत्रको सुरक्षा गर्न प्रयोग गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर