ताज जित्नुको राज के हो ? मिस नेपाल प्रियंका रानी जोशीलाई २० प्रश्न – Nepal Press

ताज जित्नुको राज के हो ? मिस नेपाल प्रियंका रानी जोशीलाई २० प्रश्न

काठमाडौं । २४ वर्षीय प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल बन्न सफल भएकी छन् । उनले आगामी मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

एक साताअघि भएको फिनालेमा २३ जना प्रतिस्पर्धीलाई उछिन्दै जोशीले मिस नेपालको ताज पहिरेकी हुन् । त्यसयता उनलाई मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।

आफूले निकै संघर्ष गरेर मिस नेपालको ताज जित्न सफल भएको बताउँछिन् प्रियंका । उनले मिस नेपालको उपाधि यात्राबारे हामीसँग खुलेर कुराकानी गरिन् । प्रस्तुत छ, उनीसँग गरिएको प्रश्नोत्तरः

१) मिस नेपाल बनपछि कस्तो महसुस गरिराख्नुभएको छ ?

एउटा भार परेको छ । सँगसँगै रमाइलो पनि भइरहेको छ । त्यो रात क्राउन पहिरिएँ । बिहान उठ्दाखेरि जीवन नै परिवर्तन भयो कि क्या हो भन्ने खालको फिलिङ पनि मनमा आयो । साथसाथै आफूले गर्नुपर्ने कर्तव्यहरुको पनि चासो राखिरहेको छु ।

अब कसरी अगाडि बढ्ने र मिस वर्ल्डमा कसरी तगडा प्रतिस्पर्धा देखाउने भनेर मभन्दा अगाडिका मिस नेपाल दिदीहरुसँग सल्लाह गरौं भन्ने सोचिरहेकी छु । समग्रमा धेरै एक्साइटेड र ग्रेटफूल महसुस गरिरहेकी छु ।

२) भार परेको छ भन्नुभयो । मिस नेपालको ताज तपाईंलाई गह्रुंगो भएको हो ?

त्यस्तो होइन । क्राउन सँगसँगै कर्तव्यको भार त बोक्नु परिहाल्छ । तब न तपाईंलाई आफूले गरेको यात्राको भारी महसुस हुने हो । आउने दिनमा तपाईंले कसरी त्यो भारलाई सम्हालेर अगाडि बढ्नुहुन्छ भन्ने कुराले पनि भार धेरथोर भन्ने कुरा देखाउँछ ।

३) यसपालिको सिजनमा डाक्टरहरुलाई अलि धेरै प्राथमिकता दिइएजस्तो लागेन ?

डाक्टर डाक्टर भन्ने हल्लामात्र धेरै भयो । हामीले एउटै रुममा बसेर सबैले ट्रेनिङ लिएका हौं । प्रेरक प्रशिक्षण, व्यक्तित्व विकासदेखि सबै प्रशिक्षणसम्म एउटै रुममा भएको हो । एउटा रुममा बसेपछि हामी सबै एउटै तहको हुन्छौं र सबैलाई एउटै कुराहरु सिकाइन्छ । त्यसैले यो डाक्टर, यो इञ्जिनियर भनेर तलमाथि सोच्ने भाव कसैमा आएन ।

४) विजयी भएपछि परिवारको तर्फबाट भव्य गृहप्रवेशको समारोह पनि गरियो । गृहप्रवेश भन्ने शब्द सुन्दा त कतिपयलाई तपार्ईंको बिहे नै भएको हो कि भन्ने पनि पर्यो नि ?

होइन, मेरो बिहे भएको छैन । मिस नेपाल भएको भोलिपल्टै मिसेस नेपाल कसरी हुन सक्छु ? (हाँसो) खासमा यो एउटा लडाइँ थियो । यति धेरै प्रतिस्पर्धीहरुबीचको लडाइँ । मैले आफूमा भएको कमिकमजोरीलाई सुधार्दै अन्तिमसम्म लगेको थिएँ । मेरो त्यो लडाइँ र मेहनतलाई मेरो परिवारले सेलिब्रेट गर्नुभएको हो ।

यो मेरोमात्र ताज होइन, मेरो परिवारको पनि ताज हो । मेरो परिवारको पनि जीत हो । यही जीतको अवसरमा मेरो भव्य गृहप्रवेश गरिएको हो । त्यसमाथि अनामनगरमा पहिलोचोटि ताज भित्रिएकाले गर्दा उहाँहरुले मलाई भव्यतासाथ भित्र्याउनु भयो ।
मैले न्यान्सी र सरिसालाई पनि आफूसँग लगौँ कि भन्ने सोचेकी थिएँ तर उहाँहरुको आफ्नै काम भएकाले गर्दा हामी सँगै जान सकेनौं ।

५) तपाईं आफैंलाई आफू कति सुन्दर छु जस्तो लाग्छ ?

सौन्दर्य एक सब्जेक्टिभ विषय हो । मलाई मन परेको कुरा अरुलाई मन नपर्न सक्छ । सुन्दरता हेराइमा र उसको बानी व्यहोरामा हुन्छ । अनुहार त सिर्फ भगवानको एक देन हो ।

६) कसैको सुन्दरताको परख कसरी गर्ने हो ?

मेरो सुन्दरता मैले अरुसँग गर्ने व्यवहारले झल्काउँछ । मानिसको दुखः र समस्या बुझ्न सक्नुपर्‍यो । बाहिरमात्र सुन्दर भएर हुँदैन । जब म अरुसँग राम्रो हुन्छु र अरुको मर्म बुझ्ने हुन्छु, त्यहीवेला म सुन्दर देखिन्छु जस्तो लाग्छ ।

७) तपाईंको लागि मिस नेपाल के हो ?

मिस नेपाल मेरो लागि कुनै वेला एक सपना थियो भने अहिले यो एक जिम्मेवारी हो । यो कुनै काम वा पेशा हैन । मिस नेपाल मेरो लागि त्यो ढोका हो, जसले मेरो हरेक कमिकमजोरीहरुलाई पन्छाएर निस्किने बाटो देखाएको छ । धेरै अवसरहरुको बाटो खोलिदिएको छ ।

मिस नेपाल भनेको देशको छोरी हो । जसरी विभिन्न व्यक्तित्वहरुले विभिन्न क्षेत्रमा आफू र नेपालको नाम चिनाइरहनुभएको छ, त्यसरी नै म मिस नेपाल भएर आफ्नो देशलाई विदेश र विदेशीमाझ चिनाउन लागिपरेकी देशकी छोरी हुँ ।

८) क्राउन जितेको रात निन्द्रा लाग्यो कि लागेन ?

क्राउन जितेको रात हामी सबै र्‍याडिसन होटलमा नै बस्यौं । भोलिपल्ट पनि कोरोनेसन डिनर थियो । त्यसैले हामी घर जान पाएनौं । प्रतियोगी भएदेखि सबैलाई सँगै देखिरहेकाले गर्दा त्यहाँ हुँदासम्म खासै भिन्नता पाइनँ । मनमा मैले जितेकी छु भन्नेमात्र थियो । जब पर्सिपल्ट बाहिर निस्किएँ र भव्य गृहप्रवेश देखेँ, त्यति बेला चाहिँ ‘ओहो, धेरै ठूलो उपलब्धि पो पाएछु मैले’ भन्ने महसुस भयो ।

९) एकाएक समाचारको हेडलाइन्स भएको देख्दा कस्तो महसुस भयो ?

जीवनमा केही गरें कि जस्तो लाग्यो । यहाँ आउनुअघि यहाँको बारेमा बुझेकी थिएँ, देखेकी थिएँ । तर, आफैं समाचारहरुको हेडलाइन्स बन्दा के फरक हुन्छ भन्ने महसुस हुँदैन थियो । म जित्छु भनेर सोचेर आउँदा पनि म हेडलाइन्स हुन्छु भन्ने चाहिँ सोचमा आउँदो रहेनछ । तर, यसरी समाचारहरु र पत्रपत्रिकाको हेडलाइन्स बन्दा, आफ्नो जिम्मेवारी र देशले आफूलाई दिएको जिम्मा छर्लङ्ग आँखा अगाडि आउँदो रहेछ ।

१०) आफूलाई मनपर्ने आफ्नै एउटा बडी पार्ट कुन हो ?

मलाई मेरो हाँसो मनपर्छ । सबैले एकदमै वेलकमिङ स्माइल छ भन्नुहुन्छ ।

११) यति धेरै राम्री हुनुहुन्छ, कतिको प्रेम प्रस्ताव आउँछ ?

अहिलेसम्म एउटा पनि आएको छैन । धेरै राम्री देखेर तर्सिनुभए जस्तो पनि लाग्छ, हाहाहा…।

१२) झट्ट हेर्दा पुरुषको के कुराले धेरै आकर्षण गर्छ ?

मलाई पुरुषमा धेरै केही चाहिँदैन । चट्ट, सफा, स्वच्छ, अग्लो र आफूलाई वेल म्यानेज गरे पुग्छ ।

१३) मिस नेपालको इतिहास हेर्ने हो भने प्रायः विजेताहरु नेवार समुदायबाट हुनुहुन्छ । हरेकपटक नेवार मिस नेपाल हुनु संयोग हो या सेटिङ ?

एकदमै संयोग हो । सरिसा र म नेवार भए पनि, नेवार समुदायबाट आए पनि, हाम्रो संघर्ष हामीलाई मात्र थाहा छ । हामीले धेरै नै कोसिस गरेर यहाँसम्म आएका छौं । धेरै नै सपोर्ट पाएर यहाँसम्म आएका हौं । हामी सातैवटा प्रदेशमा हाम्रा प्रतिस्पर्धीहरु खोज्दै हिँड्छौं ताकि हाम्रो प्रतिस्पर्धामा धेरै जातजाति र वर्णका माानिस आउन् । अब जसले जसरी मेहनत गर्नुभएको छ । जसरी आफूलाई फिनालेमा प्रस्तुत गर्नुहुन्छ, उसले नै ताज लैजाने हो । यहाँ अलिकति पनि छलकपट हुँदैन । माक्र्स दिने हाम्रा जजहरु हुन् । अरु समुदायहरुबाट पनि मिस नेपाल वरल्ड भइरहनुभएको छ । नेवारहरुमात्र मिस नेपाल हुन्छन् भन्ने चाहिँ मान्छेहरुको एउटा गलत धारणा हो ।

१४) कलाकारिता क्षेत्रमा प्रवेश गर्ने सोच बनाउनुभएको छ कि छैन ?

अहिलेसम्म छैन । मेरो परिवारले पहिलेदेखि नै गरगहनाको व्यवसाय गर्दै आइरहनुभएकाले गर्दा म पनि यही विषयमा अध्ययन गर्दैछु । यही व्यवसायलाई केही नयाँ ढंगले प्रस्तुत गर्न सकिन्छ कि भन्ने सोच्दैछु । कलाकारिता क्षेत्र त्यस्तो सोचेजस्तो सजिलो छैन । यो क्षेत्रमा नाम कमाउन र टिक्न गाह्रो छ ।

१५) मिस वर्ल्डको तयारी कस्तो चल्दैछ र के टाइटल भित्र्याउन मन छ ?

तयारी जारी छ । सकेसम्म सबै टाइटल भित्र्याउने गरी मेहनत गर्नेछु । ‘ब्युटी ह्वीथ द प्रपोज’, खेल, टप मोडल, आदि जस्ता जति पनि टप १२ मा डाइरेक्ट प्रवेश गर्न सकिने टाइटलहरु छन्, यिनीहरुमा विशेष ध्यान दिएर लाग्यो भने मिस वर्ल्डको ताज हाम्रो हातबाट धेरै पर छैन जस्तो लाग्छ ।

१६) त्यसो भए मिस वर्ल्ड जित्छु भन्ने विश्वास छ ?

ढुक्क छैन । तर, आफूमा भरोसा छ ।

१७) तपाईं आफ्नो आइडल मिस नेपाल कसलाई मान्नुहुन्छ ?

यो प्रश्न चाहिँ मलाई दाहिने आँखा र देब्रे आँखामध्ये एउटा रोज्नुस् भनेजस्तै हो । तर पनि एउटा रोज्नै परेमा म सुगारिका केसी रोज्छु ।

१८) फिल्म कतिको हेर्नुहुन्छ ?

म हेर्छु । फिल्म मनोरञ्जनको एकदमै ठूलो स्रोत भएकाले गर्दा मलाई मनपर्छ ।

१९) तपाईंको मन पर्ने हिरो ?

मलाई प्रदीप खड्का मनपर्छ ।

२०) आकाश श्रेष्ठ, अनमोल केसी र पल शाहमध्ये कसलाई डेट गर्न चाहनुहुन्छ ?

अनमोल केसीलाई ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *