पाँच विकेट लिएकी अश्मिना रोइरहेको त्यो तस्बिर – Nepal Press

पाँच विकेट लिएकी अश्मिना रोइरहेको त्यो तस्बिर

काठमाडौं । शुक्रबार दिनभरी जसो सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल जसरी फैलियो। एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईलाई सामान्य योगफलमा सिमित गरेपनि अगाडि बढ्न नसकेपछि नेपाली टोलीकी एक सदस्यलाई रोइरहेको र उनलाई प्रशिक्षकलगायतले सान्त्वना दिइरहको उक्त तबिररमा देख्न सकिन्थ्यो। ती खेलाडी थिइन् बलर अस्मिना कर्माचार्य।

टस जितेर बलिङ रोजेको नेपाली टोलीले यूएईलाई ८१ रनमा सिमित गरेपछि पहिलोपटक एसिसी महिला टी–२० च्याम्पियनसिपको फाइनलसम्म पुग्ने आधार बलियो देखिएको थियो।

त्यसमा पनि अस्मिनाले ३.५ ओभरमा केवल १० रन खर्चिएर ५ विकेट लिएकी थिइन्। उनले दुवै ओपनर र तल्लोक्रमका तीन जना ब्याटरलाई आउट गरेकी थिइन्। एउटा क्याच पनि लिएकी थिइन्। तर दुर्भाग्य नेपालले लक्ष्य पाएपछि ब्याटिङ गर्न पाएन। वर्षाका कारण खेल सम्भव नभएपछि समूहगत चरणको नतिजाका आधारमा यूएई अगाडि बढ्यो र नेपाली महिला क्रिकेट टोलीले सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हात पार्नबाट चुक्नु पर्‍यो।

नेपाल यसअघि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सहभागितामै फाइनल पुगेको थियो, सन् २००७ मा। त्यतिबेला बंगलादेशसँग पराजित भएर उपाधि जित्न असफल भएको थियो। तर त्यस यता नेपाली महिला टोली सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा फाइनल पुग्न सकेको छैन।

अस्मिनाले यूएईविरुद्ध बलिङ गरेको २३ बलमध्ये १६ बलमा विपक्षीले रन जोड्न सकेको थिएन। महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि नेपाली महिला क्रिकेटरले एकै खेलमा पाँच विकेट पनि लिएका थिएनन्। उनले महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ७ खेलमा १० विकेट लिएकी छिन्।

काठमाडौंमै हुर्किएकी यी मिडियम पेसरलाई सिनियर राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन भने लामै समय लागेको थियो। ‘आज मप्रति देखाएको माया र सहयोगले निकै खुसी छु। केही कारणले गर्दा फाइनल पुग्न नसकेकामा निकै निराश छु। तर अब यहाँबाट अगाडि र माथी बढ्ने हो। मायाप्रति सबैलाई धन्यवाद। आज धेरै कुरा सिकियो’, २२ वर्षीया अस्मिनाले शुक्रबार सामाजिक सन्जालमा लेखेकी छिन्। नेपाल फाइनल पुग्न सकेको भए एसिसी महिला टी-२० एसिया कपका लागि पनि छनोट हुने थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर