प्रहरीमा ‘नमस्ते टोली’ र ‘रैथाने’ बीच घम्साघम्सी – Nepal Press

प्रहरीमा ‘नमस्ते टोली’ र ‘रैथाने’ बीच घम्साघम्सी

प्रहरी बढुवाको लहर चलिरहँदा एसएसपी दर्जामा हुन लागेको पछिल्लो बढुवा तयारी पेचिलो मोडमा पुगेको छ । यदि २०७४ साउन १९ मा भएको एसपी बढुवाको वरियताकै आधारमा एसएसपी बढुवा हुने कि नहुने भन्ने विषयले त्यस्तो मोड लिएको हो ।

यदि सोहीअनुसार एसएसपी बढुवा हुने हो भने प्रहरीको भावी नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी ०५८ सालमा नेपाल प्रहरीमा प्रवेश गर्ने टोली हावी हुने स्थिति छ । त्यो स्थिति नआओस् भनी २०५४ चैत १८ मा प्रहरी निरीक्षकको आधारभूत तालिमबाट सेवा प्रवेश गरेका अधिकृतहरु तीव्र भनसुनमा जुटेका छन् ।

प्रहरीमा राष्ट्रिय अनुन्धानको अनुसन्धान अधिकृत पदमा विभिन्न मितिमा नियुक्त भई २०५८ सालमा सेवा परिवर्तन गरी नेपाल प्रहरीमा पठाइएका अधिकृतहरुलाई प्रहरीभित्र ‘नमस्ते टोली’ का नाममा विभेद गर्ने गरिएको छ । यद्यपि उनीहरुले सेवा परिवर्तनपछि आधारभूत तालिमदेखि हरेक तालिम, अवसर र भूमिकाहरु निर्वाह गर्दै आएका छन् ।

अहिले राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा २०५३ पुस ५ मा नियुक्त भई सेवा परिवर्तन गरी प्रहरीमा प्रवेश गरेका अधिकृतहरु एसएसपी बढुवाको वरिष्ठता क्रममा अगाडि छन् । उनीहरुभन्दा पहिल्यै २०५२ मंसिर ४ र फागुन ११ मा राष्ट्रिय अनुसन्धानबाट सेवा सुरु गरेका तीनजनाले एसएसपी दर्जामा बढुवा पाइसकेका छन् । तीमध्ये राजेन्द्रसिंह खड्का र योगबहादुर पाल अहिले पनि एसएसपी छन् भने टीकाबहादुर केसी गत पुस १८ गते उमेर हदका कारण अवकास भइसके ।

अब हुने बढुवामा डीएसपीबाट एसपीको दुई बढुवा लटका एसपीहरु एसएसपीका दावेदार हुन् । त्यसमध्ये बढुवा मिति २०७४/०४/१९ का ३५ एसपीमध्ये दुईजनाले सेवा अवधि लागेर अवकास पाइसकेका छन् । अहिले एसएसपीको रिक्त दरबन्दी ३२ हो । एसपी बढुवा मिति २०७५/०२/२९ का अधिकृतलाई पनि एसएसपीमा समेट्नुपर्ने भयो भने ०७४ का एसपीहरुबाट केही व्यक्ति कटौतीमा पर्ने खतरा रहन्छ ।

२०७४/०४/१९ मा भएको एसपी बढुवा सूचीको वरियतामा अघिल्लो अंकमा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गर्नेहरु बढी छन् । उक्त बढुवाको पहिलो नम्बरमा सिद्धिविक्रम शाह, दोस्रोमा सुशीलसिंह राठौर र तेस्रोमा माधवप्रसाद श्रेष्ठ थिए । चौथोमा एसपी हुने गणेश चन्द भर्खरै डीआईजी बढुवा हुने २०५१/१२/५ का इन्स्पेक्टर हुन् । चन्दपछि एसपी हुने पाँचौं व्यक्ति उमाप्रसाद चतुर्वेदीसहित ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ, विमल बस्नेत पनि अनुसन्धानबाटै प्रवेश गरेका हुन् ।

२०५४/१२/१८ मा नेपाल प्रहरीको निरीक्षक आधारभूत तालिमबाट सेवा प्रवेश गर्नेमध्ये राजन अधिकारी २०७४/०४/१९ को एसपी बढुवामा अगाडि थिए । उनीपछि ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, डम्बरबहादुर विकसहितका थिए ।

अहिले भर्ना मिति २०५४/१२/१८ का अधिकृतलाई अगाडि पारेर बढुवा सिफारिस प्रकाशित गराउने दौडधुप चलिरहेको छ । तर, भर्नाको वरिष्ठतालाई मिच्दा संगठनको चेन अफ कमाण्ड विथोलिने प्रहरीविज्ञहरु बताउँछन् ।

पूर्वगृह सचिव तथा लोकसेवाका पूर्वसदस्य डा.गोविन्दप्रसाद कुसुम फरक–फरक सेवा समूहबाट कर्मचारीहरु समायोजित भएर एउटै सेवामा गइसकेपछि विभेदकारी नजरले हेर्न नहुने बताउँछन् ।

‘राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गराउने कुरा ठीक थियो कि थिएन भन्ने बहस सकिएर पनि उनीहरु अर्को सेवामा प्रवेश गरिसकेका छन्’, उनी भन्छन्, ‘अब उनीहरुको मेरिट लिष्ट सुरु भर्नाकै आधारमा गर्ने कि नगर्ने वा उनीहरुको वरिष्ठतालाई पूर्वसेवा समूहकै नाममा तलमाथि पार्ने कुरा नाजायज हुन्छ ।’

राष्ट्रिय अनुसन्धानबाट आएका कर्मचारीमाथि गरिने पटक–पटकको विभेदलाई घोर अन्यायको संज्ञा दिन्छन्, प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल । ‘हो, आउने प्रक्रिया गलत भयो’, उनी भन्छन्, ‘प्रहरी वा सेनाको सेवामा जाँदा लोकसेवाका निश्चित मापदण्ड पार गरेर आउनुपर्छ । त्यो प्रक्रिया पूरा नगरेका कारण उहाँहरुको समायोजनमा प्रश्न उठेको हो । म पनि एउटा बलियो प्रश्नकर्ता थिएँ । तर, सरकारले निर्णय गरेर, आधारभूत तालिम गरी, काममा पनि लगाइसकेपछि कति दिन विभेद गर्ने ?’

उनी भन्छन्, ‘उनीहरुको कार्यसम्पादन र चलाएको कमाण्डमा प्रश्न वा कैफियत भए त्यसअनुसार मूल्यांकन गर्ने कुरा अलग हो । तर, पूर्वसेवाकै नाममा हुने चर्चा, परिचर्चा र विभेद जाजय होइन ।’

एसएसपीका दावेदार

राअबाट आएका

प्रहरीमै भर्ना भएका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *