विप्लव नेकपाका ३ केन्द्रीय सदस्यसहित चारजनाले दिए सामूहिक राजीनामा – Nepal Press

विप्लव नेकपाका ३ केन्द्रीय सदस्यसहित चारजनाले दिए सामूहिक राजीनामा

चारै जना माओवादी प्रवेश गर्ने तयारीमा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् ।

प्रशिक्षको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला उनीहरू पार्टीबाट अलग्गिएका छन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।

बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको राजीनामा दिएका नेताको संयुक्त वक्तव्यमा उल्लेख छ ।

‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ‘, उनीहरूले भनेका छन् ।

विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्यूरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्बासी संगठनको अध्यक्षसमेत हुन् । पूर्वसभासद र सेती ब्यूरो इन्चार्ज भइसकेका खड्का हाल केन्द्रीय सदस्य हुन् । धामी केन्द्रीय सदस्य र परियार भने दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज हुन् ।

आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले सामूहिक राजीनामा दिएको उनको भनाइ छ ।

अब जनयुद्ध र जनाआन्दोनलको उपलब्धीको रक्षा गर्दै सरकार र सदनको मोर्चाबाटै जनताको परिवर्तनको चाहनालाई पूरा गर्न एक मात्र विकल्प आफूहरूले देखेको कारण विप्लवसँग अलग भएको बताउँदै पुनले अब छिट्टै एकता र ध्रुवीकरणको पहलमा लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर