कर घटाउँदा पनि पेट्रोलियम पदार्थको भाउ किन अचाक्ली ? – Nepal Press

कर घटाउँदा पनि पेट्रोलियम पदार्थको भाउ किन अचाक्ली ?

काठमाडौं । भारतले पछिल्लो समय कर घटाएर जनतालाई सस्तोमा पेट्रोलिय पदार्थ बिक्री गरिरहेको छ । नेपालमा भने १० रूपैयाँ पूर्वाधार कर त घटाइयो तर पेट्रोल/डिजेलको मूल्य झन् अचाक्ली ।

नेपाल आयल निगमका अनुसार नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर ३८.८ र पेट्रोल २४.१२ पैसा सस्तो छ । नेपालसँगै सीमा जोडिएको भारतको रक्सौलमा डिजेल १५३ रुपैयाँ २ पैसा (भारु ९५.३ रुपैयाँ) र पेट्रोल १७४ रूपैयाँ ८८ पैसा (भारु ९५.८१) रहेको छ ।

तर, भारतसँगकै सीमावर्ती वीरगञ्जमा भने डिजेल १९२ र पेट्रोल १९९ रुपैयाँ छ । नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा भारततिर इन्धन तस्करी हुन्थ्यो त्यसलाई रोक्न नसकिएको निगमले बताउने गरेको थियो । अहिले त्यसको ठीक उल्टो छ । भारतमा पेट्रोलिय पदार्थ मूल्य सस्तो भएकाले नेपालतिर तस्करीको सम्भावना बढेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नेपाल आयल निगमले १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल उपभोक्ताले १९९ रुपैयाँ तिरिरहेका छन् । पेट्रोलमा विभिन्न प्रकारका गरी ६५.६१ कर लगाइएको छ । त्यसमा आयातको खर्च, व्यवसायीको नाफा र निगमको नाफा राखेर उपभोक्तासम्म पुग्छ ।

आईओसीसँग निगमले प्रतिलिटर १४६.५२ रुपैयाँमा किनेको डिजेल १९२ रुपैयाँमा खरिद गरिरहेका छन् । डिजेलमा सरकारले विभन्न कर गरी ४९.५३ रूपैयाँ उठाउने गरेको निगम बताउँछ ।

डिजेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य वृद्धि गर्दा पनि निगमको १५ दिनमा करिब २ अर्ब ३५ करोड नोक्सानी हुने अनुमान छ ।

नेपालमा भन्दा भारतमा पेट्रोलिय पदार्थ सस्तो हुँदा त्यहाँको प्रदेश सरकारले पनि पेट्रोलिय पदार्थमा कर लगाउँथ्यो । तर, यहाँ कर घटाउँदा पनि महँगी यथावत् । अझ यहाँ प्रदेशले कर लगाउँदैन ।

भारतले पेट्रोलमा भारू ८ र डिजेलमा ६ रूपैया अन्तशुल्क घटायो । यहाँ १० रूपैयाँ पूर्वाधार कर घटाइयो ।

निरन्तर मूल्य बढाइरहँदा पनि घाटा मात्रै देखाउनुमा निगमप्रति आशंका र टिप्पणी बढ्दो छ ।

सीमा मूल्य नै बन्द

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि नेपाल आयल निगमले नेपाल भारत सीमा मूल्य तुलनामा मूल्य राख्न बन्द भएको छ । केही दिन अघि जिडेजलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले नेपाल-भारत सीमा मूल्य तुलना हाल्न छोडेको छ । भारतमा भन्दा नेपालमा पेट्रोलिय पदार्थको मूल्य कम हुँदा नेपाल आयल निगमले तुलनात्मक मूल्य विवरण राख्थ्यो ।

तर, भारतमा सस्तो भएपछि तुलनात्मक मूल्य हाल्नै छाडिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपालमा सस्तो हुँदा उपभोक्तालाई जानकारी गराउनुपर्ने तर अहिले भारतमा भन्दा नेपालमा महँगो भएपछि सीमा मूल्य तुलना राख्न नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर