जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने सरकारको निर्णय – Nepal Press

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बझांगी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो ।

को हुन् जय पृथ्वी ?

वि. सं १९३४ भदौ ७ मा सैपाल हिमालको काख बझाङमा जन्मिएका थिए– जयपृथ्वी । बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट जन्मिएका जयपृथ्वी मरणोपरान्त नेपालीका शान बनेका छन् ।

नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक जस्ता पहिचान पनि उनीसँग जोडिएका छन् ।

सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् उनी ।

३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली पनि उनी हुन् ।

यस्तै, सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि जय पृथ्वी नै हुन् ।

उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए । सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखे । ह्युमानिस्ट अर्थात मानवतावादी भन्ने अखबार सञ्चालन गरे । र, विश्वमा शान्तिको सन्देश दिँदै हिँडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर