अर्घाखाँची कांग्रेसका उपसभापतिसहित १० जना निलम्बित, गुटगत निर्णय मान्य छैन- उपसभापति पौडेल – Nepal Press

अर्घाखाँची कांग्रेसका उपसभापतिसहित १० जना निलम्बित, गुटगत निर्णय मान्य छैन- उपसभापति पौडेल

रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै जिल्ला उपसभापतिसहित १० जना नेतालाई कारबाही गरेको छ । बीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेका १० जनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

कांग्रेसले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका पार्टीका उपसभापति बाबुराम पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरेको छ । त्यस्तै पाणिनी- ६,धातिवाङका सभापति मोदनाथ पौडेल, पाणिनी- ८ पालिका पूर्वसभापति यज्ञप्रसाद पौडेल, भूमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनीलाई कारबाही गरएिको कांग्रेस अर्घाखाँची स्रोतले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि सृजना विक, पाणिनी- ८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरिएको कांग्रेस अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।

स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरिएको छ । कांग्रेस सभापति केशव श्रेष्ठले पार्टी हितविपरीत गएकालाई कारबाही गरिएको स्वीकार गरे ।

कारबाहीमा परेका उपसभापति पौडेलले आफूलाई औपचारिक जानकारी नआएको बताए ।

‘गुटगत बैठक बसेको सुनेको हो । केही दिनयता नियमित बसेको थियो, कोरम नपुगेर सरेको थियो । यस्ता निर्णयले पार्टी कमजोर हुन्छ । त्यो निर्णय मान्य हुनेछैन’, उनले नेपालप्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर