प्रधानमन्त्री देउवाले भने- गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अघि बढाइने छ – Nepal Press

प्रधानमन्त्री देउवाले भने- गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अघि बढाइने छ

कैलाली । प्रधानमन्त्री शेर बहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् ।

‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’उनले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद ।’उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडी बढाउनु पर्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे । ‘म धनगढीबाट रेल चढेर काठमाडौँ पुगेको थिए । अहिले प्रत्येक दिन विमान आएको छ । छिट्टै पुगिन्छ । कर्णाली पारि ७ बजे पछि जान पाइने थिएन । अहिले २२ वटा पुल भएको छ । तर, विकास पुग्दैन । महत्त्वपूर्ण कुरा भएको छ’ उनले भने।

कैलालीमा नदी कटानको समस्या रहेको भन्दै देउवाले यस विषयमा समेत आफूले पहल गर्ने जनाएका छन् । उनले भने, ‘अहिले नदी कटानको समस्या छ । मोहना देखी पूर्व सत्ती सम्म सबै मिलेर गर्न सकिन्छ । भारतसँग कुरा गर्न सकिन्छ । ’

धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनु पर्नेमा प्रधानमन्त्री देउवाले समेत जोड दिएका थिए । त्यसका लागि उनले मेयर हमाललाई कडा रूपमा प्रस्तुत हुनु पर्ने बताए ।

‘नगरपालिका सुन्दर बनाउन अतिक्रमण रोक्नु पर्छ । राम्रो कामको लागि कहिले काई कडा बन्नु पर्छ ’उनले भने ‘लाग्नुहोस् अतिक्रमण हटाउनु होस् ।’

प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको औँल्याए ।

‘कर्मचारी केन्द्रमा बस्न चाहन्छन् । उनीहरू प्रदेशमा आउन चाहरिरहेका छैनन्’ प्रधानमन्त्री देउवाले भने ‘उनीहरूलाई अवसर दिएर भए पनि प्रदेशमा ल्याउनु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर