काठमाडौंमा ‘हनी ट्रयाप’ को बिगबिगी, २ किशोरीसहित ६ जना पक्राउ – Nepal Press

काठमाडौंमा ‘हनी ट्रयाप’ को बिगबिगी, २ किशोरीसहित ६ जना पक्राउ

काठमाडौं । राजधानीमा हनी ट्रयापमा संलग्न रहेको आरोपमा २ युवतीसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले युवतीहरू युवकहरूको नजिक हुने र ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक-९ की १९ वर्षीया निकिता केसी, काभ्रेको ढुसेनी-३ स्थायी घर भई काठमाडौंको कोटेश्रर बस्ने १८ वर्षीया मनिषा परियार, खोटाङको हलेसी-७ स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा र सुनसरीको इटहरी स्थायी घर भई काठमाडौंको चक्रपथ बस्ने ३० वर्षीय सन्जिव दर्जी छन् ।

ललितपुरको नखिपोट बस्ने दोलखाको मैलुङ-५ की २५ वर्षीया निमा लामा र सोही ठाउँ बस्ने दोलखाकै मैलुङका ३० वर्षीय पासाङ लामा पनि पक्राउ परेका छन् ।

युवतीहरूले सामाजिक सञ्जालमार्फत नजिक भएर युवाहरूसँग सम्पर्क गर्ने गरेको र पछि ब्ल्याकमेलिङका लागि नक्कली आफन्तदेखि पत्रकारसमेत खडा गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरूले पैसा नदिए मुद्दा हाल्नेसम्मको धम्की दिने गरेका छन् । पक्राउ परेका युवाहरूले युवतीहरूलाई परिचालन गरी पैसा उठाउने गरेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *