बुटवलमा आजदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी र स्वाद परीक्षण – Nepal Press

बुटवलमा आजदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी र स्वाद परीक्षण

रुपन्देही । नेपाली चियाको बजार प्रवर्द्धन गर्न बुटवलमा असार आज र भाेलि राष्ट्रिय चिया प्रदर्शनी तथा चियाको स्वाद परीक्षण हुँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन देशभरका चिया उद्यमीहरु बुटवलमा भेला भइसकेका छन् ।

बोर्डले नेपालमै पहिलोपटक बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्न लागेको हो । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरु, एसाेसियसनलगायतसँगको सहकार्यमा प्रदर्शनी हुँदैछ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग धरै भए पनि नेपालमा चियाको महत्व बुझाउन प्रदर्शनी गर्न थालिएको बताए । उनले नेपाली चियाको मागको तुलनामा उत्पादन कम भएको उल्लेख गर्दै बार्डको सक्रियतामा पूर्वमा सीमित चिया खेतीलाई पश्चिमका पहाडी जिल्लाहरुमा विस्तार गर्ने तयारी गरिएको बताए ।

प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्राण्डका चियाको निःशुल्क स्वाद लिन पाइने बोर्डका कार्यकारी निर्देशक चन्द्र पुरीले जानकारी दिए ।

प्रदर्शनीमा नेपालमा उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसाेसियसन, हिमालयन अर्थोडक्स टि प्रोड्युसर एसाेसियसन, नेपाल टि प्रोड्युसर एसाेसियसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टि एसाेसियसन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको सहभागिता रहेकाे छ ।

कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक पुरीले जानकारी दिए । नेपालको तराई क्षेत्रमा विशेष गरी झापा जिल्लामा सीटीसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चियाअन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाइने गरिन्छ । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।

नेपालमा चिया खाने प्रचलन निकै पुरानो हो । इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । नेपाली चियाको इतिहास १५० वर्षभन्दा पुरानो रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको र २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।

नेपाली चिया भारतलगायत अन्य तेस्रो मुलुकहरूमा समेत  निर्यात भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा नेपालले तीन अर्ब ७९ करोडभन्दा बढी मूल्यको चिया निर्यात गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर