प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन – Nepal Press

प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनाको विषयलाई लिएर अवरोध जनाएको हो ।

बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारको घटनामा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै बैठक चल्न नदिने घोषणा गरे ।

ढकालले दाङको तुलसीपुरस्थित मिना बस्नेतको घरमा पसेर राज्यमन्त्री वलीले बस्नेत तथा उनकी छोरीमाथि गरेको दुर्व्यवहारको घटनाले प्रदेशवासीको शिर निहुराएको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

‘एउटा महिलामाथि जुन खालको व्यवहार मन्त्रीबाट भयो यसले हामीलाई लज्जित बनाएको छ । यसबारे प्रदेश सरकारको प्रतिक्रिया नआउनु दुःखद हो’, उनले भने । प्रतिपक्षी दलको अवरोधपछि बैठक आधा घण्टाका लागि अहिले स्थगित भएको छ ।

राज्यमन्त्री वलीले मङ्गलबार तुलसीपुर निवासी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ ।

यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले राज्यमन्त्री वलीले गरेको दुर्व्यवहारबारे प्रदेश सरकारको आधिकारिक धारणा नआउँदासम्म प्रदेशसभा बैठकमा अवरोध गर्ने निर्णय गरेको थियो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर