अमेरिकी सेना नेपालको अनुमतिबेगर कहिल्यै आउँदैन : कानुनमन्त्री बन्दी (भिडिओ) – Nepal Press

अमेरिकी सेना नेपालको अनुमतिबेगर कहिल्यै आउँदैन : कानुनमन्त्री बन्दी (भिडिओ)

‘एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले २ घण्टा नपुग्दै स्वीकार गरिसकेको हो’

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले अमेरिकी सेना नेपालको अनुमतिबेगर नेपाल कहिल्यै आउन नसक्ने बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलमा एमसीसी, व्याख्यात्मक घोषणाको स्वीकार्यता लगायतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘अमेरिकी सेना नेपालको इजाजतबेगर कहिल्यै आउन सक्दैन । ग्लोबल एजमा राज्य र राज्य बीचको सम्बन्धलाई डिफाइन गरेको हुन्छ,’ उनले भने,‘त्यो अनुसार कुनै पनि देश अर्को देशमा इजाजतबेगर जबर्जस्ती घुस्न पाउँदैन् । युएनको च्याप्टर ६ र ७ बाहेक ।’

यस्तै एमसीसीको व्याख्यात्मक घोषणा संसदले अनुमोदन गरेको दुईघण्टा नपुग्दै अमेरिकाले स्वीकार गरिसकेको मन्त्री बन्दीले दाबी गरे ।

‘यही संसदले एमसीसी पास गर्‍या हो, झण्डै ९ बजेको थियो हामीले यहाँबाट व्याख्यात्मक टिप्पणी पास गर्दा । पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ,’ उनले भने,‘उसको सन्धिमा व्याख्यात्मक टिप्पणीसहित पास गरेर पठाउँदा स्वागत गर्छ कसैले ? आपत्ति गर्थ्यो होला ।’

व्याख्यात्मक घोषणाको औचित्यका विषयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाले प्रश्न उठाएका थिए । सोही विषयको जवाफमा मन्त्री बन्दीले अमेरिकाले स्वागत गरेको, भियना महासभाले बनाएको अन्तार्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको गाइडलाइनअनुसार व्याख्यात्मक घोषणा औचित्यपूर्ण रहेको दाबी गरे ।

‘पहिलो कुरा अमेरिकाले स्वागत गर्‍या छ, तत्कालै । झण्डै २ घण्टाभित्रै । यस्तै अन्तर्राष्ट्रिय भियाना महासभाको सन्धि ऐन-१९६९ छ । त्यसको आर्टिक ३४ बारे मैले पटक-पटक भन्या’छु । त्यसपछि संयुक्त राष्ट्रसंघको छ, २०११ मा बनाएको,’ उनले भने,‘जसले के भन्छ भने द्विपक्षीय सन्धिमा व्याख्यात्मक घोषणा त्यो सन्धिको अंग बन्छ भनेको छ ।’

त्यस्तै नेपालको सन्धि कार्यान्वयन गर्ने सम्बन्धी कार्यबिधिले पनि कुनैपनि सन्धि गर्दाखेरि व्याख्यात्मक घोषणा गर्नसकिने भनेको मन्त्री बन्दीले बताए ।

उनले भने, ‘नेपालको राष्ट्रिय कानुन र कार्यविधिमा भएको व्यवस्था, अन्तर्राष्ट्रिय कानुनमा भएको व्यवस्था, हाम्रो सन्दर्भमा उठेका प्रश्नहरू संसदले गरेको यो हो है हाम्रो बुझाइ भनेर पास गरिसकेपछि त्यो सन्धिको अंग भएको कारणले गर्दा कुनै शंका नभएको कुरा अनुरोध गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर