बहस सुनिरहेका निवेदक कार्कीले इजलाससमक्ष भने- श्रीमान्, मेरो विशिष्ट श्रेणी थियो तर द्वितिय श्रेणीको अंक दिइयो – Nepal Press

बहस सुनिरहेका निवेदक कार्कीले इजलाससमक्ष भने- श्रीमान्, मेरो विशिष्ट श्रेणी थियो तर द्वितिय श्रेणीको अंक दिइयो

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक(एआईजी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) इश्वरबाबु कार्कीले शैक्षिक योग्यताबापतकै अंकमा आफूलाई ठगिएको दाबी गरेका छन् ।

एआईजी सिफारिस र आईजीपी बढुवाविरुद्धको परेका रिटहरूको सोमबारदेखि सुरु अन्तिम सुनुवाइका क्रममा बहस सुनिरहेका निवेदकमध्येका एक कार्कीले भने, ‘मैले पाउने निश्चित भएका अंकसमेत पाइन । मैले स्नातकोत्तर विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको थिए । तर शैक्षिक योग्यताबापतको अंक स्नातकोत्तरको द्वितिय श्रेणी मानेर दिइएको छ’, एआईजी सिफारिसविरुद्धको बहसमा दुवै पक्षका कानून व्यवसायीको बहस सकिएपछि बसिरहेकै स्थानबाट उठेर कार्कीले भने।

बढुवाका अन्य आधारहरू स्पष्ट र अनुमानयोग्य भए पनि बढुवा समितिले दिने साढे ७ अंक र कार्य सम्पादन मूल्याङ्कनको ४० अंक दिने आधारहरू वस्तुगत नभएको भन्दै निवेदकका कानून व्यवसायीले जिकिर गरिरहेका बेला कार्कीले उक्त कुरा राखेका थिए । वरिष्ठ अधिवक्ता हरि उप्रेतीले बढुवा समितिले दिने अंक गायत्री मन्त्रजस्तो हुने गरेको बताएका छन्।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको बहसमा निवेदक तत्कालीन डीआईजीहरुको तर्फबाट बहस गर्दै उप्रेतीले भने, ‘प्रहरीको बढुवामा अन्य सबै अंक दिने आधार वैज्ञानिक र वस्तुगत हुने तर बढुवा समितिले दिने अंक गायत्री मन्त्रजस्तो हुने गरेको छ। के हो के हो जस्तो ।’

सरकारले बढुवा समितिले दिने साढे ७ अंककै आधारमा राम्रालाई समेत पछि पार्ने गरेको उनको आरोप थियो।

‘अन्य कुरामा राम्रो अंक दिने अनि के आधारमा चाहिँ बढुवा समितिले कम अंक दिने ? बढुवा समितिले दिने अंक पनि वैज्ञानिक र वस्तुगत आधारमा हुनुपर्छ’, तत्कालीन डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजङ कार्की र इश्वरबाबु कार्कीहरूको तर्फबाट बहस गर्दै उप्रेतीले भने।

सरकारले गत चैतमा कनिष्ठ डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तलाई एआईजी बनाएको थियो । एआईजी बनेको एक महिनामै सिंह आईजीपी बनेका थिए।

बढुवामा छुटाइएका तत्कालीन डीआईजीहरु कार्कीद्धय र अर्यालले गत वैशाख १८ गतेदेखि अवकाश पाइसकेका छन्। अवकाश पाए पनि अन्याय भएको भन्दै एआईजीसरहको सेवा सुविधा पाउनुपर्ने उनीहरूको माग छ।

प्रहरीको एआईजीसम्मको बढुवामा कार्य सम्पादन मूल्याङ्कनबापत ४० अंक, ज्येष्ठताबापत २२ अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८ अंक, शैक्षिक योग्यताबापत १० अंक, तालिमबापत साढे ७ अंक, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५ अंक र बढुवा समितिले दिने साढे ७ अंकसहित कुल एक सय पूर्णाङ्कको कार्य क्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिनुपर्ने प्रहरी नियमावलीको व्यवस्था रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *