युवा रोजगारी सिर्जना गर्न नेपाल चेम्बरले स्थानीय तहसँग सहकार्य गर्ने – Nepal Press

युवा रोजगारी सिर्जना गर्न नेपाल चेम्बरले स्थानीय तहसँग सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकास गर्न स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताएका हुन् ।

युवा उद्यमशिलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न प्राकृतिक स्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रवर्द्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्लको भनाइ छ ।

‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनीहरुको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ’, उनले भने, ‘युवाहरुको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानीमार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’

युवा स्वरोजगारमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मुलुकभित्रका प्राकृतिक स्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

उनले महोत्तरीमा उत्पादित उखु, फलफूललगायत अन्य उपभोग्य वस्तुको बजारीकरण गर्न जिल्ला चेम्बरले सहकार्य गर्नेसमेत बताए । मुलुकमा विचौलिया राजको अन्त्य गर्न कृषक र उपभोक्तासम्म सीधा सम्पर्क हुने गरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्नेसमेत बताए ।

मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताए ।
उनले कर राजस्व नीति एकल द्वारको हुनुपर्ने बताउँदै मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको जिकिर गरे ।

अध्यक्ष मल्लले सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर