माओवादी लडाकुबाट रिक्सा चालक हुँदै जिसस उपप्रमुख – Nepal Press

माओवादी लडाकुबाट रिक्सा चालक हुँदै जिसस उपप्रमुख

सुर्खेत । राजनीतिमा अवसर कहिले आउँछ थाहा हुँदैन । तर, इमानदारीपूर्वक लाग्दा ढिलो पनि हुँदैन । ठीक यही कुरा नेकपा माओवादीका पूर्वकम्पनी कमाण्डर सचिनकुमार बडुवालमा प्रमाणित भएको छ । घरपरिवार पाल्न अटोरिक्सा चलाइरहेका उनी शुक्रबार सुर्खेत जिल्ला समन्वय समितिको उपप्रमुख विजयी भएका छन् ।

२०३७ सालमा दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं ९ छेपाडीमा जन्मिएका बडुवालले आठ कक्षासम्म पढेका छन् । उनी सानो छँदै सुर्खेतको पश्चिम बराहताल गाउँपालिका वडा नं ४ मा बसाइ सरे । आठ कक्षा पढ्दै गर्दा उनी तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठनमा आवद्ध भए ।

त्यसबेला हाल कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका विन्दमान विष्ट तरंगाको मावि प्रारम्भिक कमिटीका अध्यक्ष थिए । बडुवाल सदस्य बने ।

आठ कक्षाको अध्ययन सकाएर पैसा कमाउन उनी भारतको हिमाचल प्रदेशको मनाली पुगे । त्यहाँ दुई वर्ष काम गरे ।

२०५३ सालमा उनी माओवादी आन्दोलनमा सहभागी भए । २०५६ सालमा भूमिगत नै भए । त्यहाँ उनी जनमुक्ति सेनामा भर्ती भए, कम्पनी कमाण्डरसम्म बने । जनयुद्धमा होमिएकै समयमा उनले दैलेख घर भएकी डिला भण्डारीसँग जनवादी विवाह गरे । तत्कालीन शाही नेपाली सेनाले २०५९ सालमा नौमुले खोलामा लखेटेर भण्डारीको हत्या गरेको थियो ।

त्यसपछि २०६१ सालमा बड्वाल घर फर्किए । दोस्रो विवाह गरे । पार्टीमा लागे पनि उनी सक्रिय हुन सकेनन् । कारण थियो घरको आर्थिक अवस्था । ‘दुई छोराछोरी जन्मिए । उनीहरुलाई शिक्षादीक्षा दिलाउन नै आर्थिक कठिनाइ भयो’, नेपालप्रेससँग उनले भने, ‘२०६७ सालमा म वीरेन्द्रनगर आएँ । यहाँ कोठा भाडामा लिएर बालबच्चा पढाइरहेको छु ।’

बड्वालले वीरेन्द्रनगरमा सचिन होटल एण्ड लज सञ्चालन गर्दै आएका छन् । बितेको तीन वर्षदेखि अटोरिक्सासमेत चलाउन थालेको बताउँछन् उनी ।

‘होटलबाट भएको आम्दानीले मात्रै पुगेन । जेठो छोराले कक्षा १२ पास गरिसकेको छ भने कान्छो ११ को परीक्षा दिँदैछ’ उनी भन्छन्, ‘ती दुवैको शिक्षादीक्षा तथा घर खर्च धान्न मुस्किल भएपछि मैले अटोरिक्सा चलाइरहेको हो । यसले अहिले जेनतेन घरव्यवहार चल्दै आएको छ ।’

उनको शरीरको दायाँतर्फ दुइटा गोलीका छर्रा छन् । ती छर्रा निकाल्न उनले सकेका छैनन् । ‘धेरै स्थानमा लडाइँ लडियो । देश परिवर्तन गर्नुपर्छ, सर्वहारा जनताको पक्षमा लड्नुपर्छ भनेर जनसेनामा भर्ती भइयो’, बडुवाल भन्छन्, ‘२०६५ सम्म पार्टी सही लाइनमा गइरहेको लागे पनि सरकारमा पार्टी गएपछि भने मन दुःखेको हो । सरकारमा गएर जनयुद्धमा भनिएको जस्तो व्यवस्था नआउँदा मन दुख्नु स्वाभाविक नै हो जस्तो पनि लाग्यो ।’

तर, अहिले भने उनी खुसी देखिएका छन् । आफ्ना सहकर्मीहरु राज्यको माथिल्ला तहमा पुग्दा आफूले अहिलेको स्थानसम्म पुग्न सकिएला जस्तो उनलाई लागेकै थिएन ।

‘पार्टीमा इमानदार भएर लागिरहेको खण्डमा एकपटक अवसर पाइने रहेछ भन्ने कुरा पुष्टि भएको छ’, उनले भने, ‘मलाई पार्टीले उपप्रमुखको जिम्मा दिएको छ । एमाले र माओवादीका साथीहरुले निर्वाचित गर्नुभएको छ ।’

उनले पार्टीका नेता कामरेडहरुको सहयोगका कारण म उपप्रमुखमा निर्वाचित भएकाले पार्टीसँगको सल्लाह गरेर अघि बढ्ने सुनाए ।


प्रतिक्रिया

One thought on “माओवादी लडाकुबाट रिक्सा चालक हुँदै जिसस उपप्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर