ऊर्जा उत्पादनका ११२ वर्षले हाम्रो खिल्ली उडाइरहेका छन् : सांसद विष्ट (भिडिओ) – Nepal Press

ऊर्जा उत्पादनका ११२ वर्षले हाम्रो खिल्ली उडाइरहेका छन् : सांसद विष्ट (भिडिओ)

काठमाडौं । पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सांसद गोकर्ण विष्टले नेपालको ऊर्जा उत्पादनको इतिहास निकै दयनीय हुन पुगेको बताएका छन् । बजेट विधेयकमाथि प्रतिनिधिसभामा चलिरहेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

‘जलस्रोतको विकासमार्फत राष्ट्रको समृद्धि प्राप्त गर्छौं, रोजगारी सिर्जना गर्छौं, देशलाई रुपान्तरण गर्छौं, पूर्वाधार निर्माण गर्छौं, भनिरहेका छौं,’ उनले भने,‘यो एक प्रकारले ११२ वर्षको अवधिले हामीलाई मजाक गरिरहेको छ । एकप्रकारले खिल्ली उडाइरहेको छ ।’ आफ्नो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुनेमा उनले शंका व्यक्त गरे ।

सांसद विष्टले छिमेकी मुलुकहरूको विद्युत उत्पादनको दृष्टान्त पनि प्रस्तुत गर्दै भने,‘सन् २०१९ को एउटा तथ्यांक चीनमा कुल जडित क्षमतामा २० लाख मेगावाट, भारत २०२२ को तथ्यांकले कुल जडित क्षमतामा ३ लाख ९९ हजार ४९७ मेगावाट र बंगलादेशमा २५ हजार ५१४ मेगावाट उत्पादन गर्ने गरेका छन् ।’ नेपालमा भने कुल जडित क्षमतामा २ हजार १७१ मेगावाट विजुली उत्पादन गरिरहेको उनले बताए ।

यही तथ्यांकमा पनि नेपाल विद्युत प्राधिकरणले ४४६ मेगावाट, अन्य सहायक कम्पनीले ५३८ मेगावाट, नीजि क्षेत्रको अगुवाइमा ९८६ मेगाावाट । पीपीपी मोडलमा ७०.१९ मेगावाट विजुली उत्पादन भइरहेको सांसद विष्टले बताए ।

गतवर्ष ४ सय मेगावाट बिजुली भारतबाट आयात गरिएको र त्यसमा २१ अर्ब ५० करोड बराबर रकम बाहिरिएको उनले बताए ।

‘दुई दिनअगाडि २५ गतेको दिन ९५ मेगावाट बिजुली भारतबाट आयात गरेका छौँ । आगामी वर्ष १२ अर्ब बिजुली आयात गर्ने सम्भवाना देखा परेको छ,’ उनले भने । यद्यपी २५ गते नै १५८ रातीमा भारततर्फ निर्यात गरेको पनि उनले बताए ।

यद्यपि वर्षायाम र हिउँदेयामको विद्युत उत्पादनको अन्तर निकै कम हुने विष्टले बताए । ‘सन् २०२१ पिक डिमान्ड १४८५ मेगाावाट थियो । आउँदो वर्ष अझ बढी हुन्छ,’ उनले भने,‘यसमा हामीले विचार पुर्‍याउनुपर्ने के छ भने वर्षायाममा २१७१ हिउँदमा यसको एक तिहाइ मात्र उत्पादन हुन्छ ।’

सुख्खायाममा बाहिरबाट हामीले विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘जुनप्रकारले वर्षायाम र सुख्खायाममा ऊर्जा उत्पादनमा असमानता देखिएको छ । यसलाई सम्बोधन गर्नेगरी जलासययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने ।

सांसद विष्टले आयोजनाका हिसाबले ३७ हजार ९४५ मेगावाट विद्युत पहिचान भएर त्यसमा लगानीकर्ता समेत लगानी गर्न इच्छुक रहेको बताए । त्यसमा विद्युत उत्पादनमा विभिन्न चरणमा रहेको आयोजनाहरू रहेको उनको भनाइ छ ।

‘सर्भेक्षण लाइसेन्स प्राप्त गरेका, वा सर्भेक्षण लाइसेन्सका लागि आवेदन दिएका, जेनरेसन प्राप्त गरेका वा जेनरेसनका लागि आवेदन दिएका, पीपीएको लाइनमा बसेका वा कनेक्सन प्राप्त गरेका यि विभिन्न चरणमा रहेका आयोजनाहरू छन्,’ उनले भने, ‘केही प्राधिकरण, केही सहायक कम्पनी, केही लगानी बोर्ड र केही निजी क्षेत्र गरेर ३७ हजार ९४५ मेगावाट कम्तीमा आयोजनाका हिसाबले पहिचान भएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर