काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार बञ्जरे डाँडाका स्थानीय वासिन्दासँग छलफल हुँदै – Nepal Press

काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार बञ्जरे डाँडाका स्थानीय वासिन्दासँग छलफल हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाको थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार बञ्चरे डाडाका स्थानीय वासिन्दासँग छलफल हुने भएको छ । छलफलमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरे डाडाका स्थानीय वासिन्दा पनि सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको हो ।

स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले नेपाल प्रेसलाई जानकारी दिए । परियारका अनुसार छलफलमा मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिव, बञ्चरे डाडा ल्याडफिड साइट आयोजना निर्देशक पनि छलफलमा सहभागि हुनेछन् ।

यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो । तर उक्त सहमतिमा बञ्चरे डाडाका स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथी अबरोध भएको थियो ।

फोहोर बोकेको गाडीलार्इ अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *