संसदीय चुनावमा उम्मेदवारी दिनेबारे रवि लामिछाने छलफलमा – Nepal Press

संसदीय चुनावमा उम्मेदवारी दिनेबारे रवि लामिछाने छलफलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके ।

यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्दै केही अनलाइनले समाचार पनि लखेका छन् । यो कति सत्य हो ? हामीले लामिछानेलाई नै सोध्यौं ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन,’ लामिछानेले भने, ‘यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’

लड्ने सम्भावना कति छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले यो विषयमा कुरा गर्ने बेला भइसकेको छैन । बेला भएपछि भनौंला नि ।’
लामिछानेले आफूलाई प्रस्तावहरू भने आइरहेको उल्लेख गरे ।

‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । विवेकशीलका पूर्वनेता पुकार बम, भाइरलम्यान मुकुन्द घिमिरे, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, सम्पदाविद सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर