कमल थापालाई लिङ्देनको जवाफ- एकता असम्भव छ, कल्पनै नगर्नुस् – Nepal Press

कमल थापालाई लिङ्देनको जवाफ- एकता असम्भव छ, कल्पनै नगर्नुस्

काठमाडौं । महाधिवेशनमा पराजयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै ‘राप्रपा नेपाल’ गठन गरे । तर, हालै सम्पन्न स्थानीय चुनावमा उनको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेन ।

चुनावी पराजयसँगै थापा राप्रपासँग एकताको चर्चा गर्न थालेका छन् । यदि राप्रपाले पनि राजतन्त्रको एजेण्डा त्यागेमा एकता हुन सक्ने उनको भनाइ छ । आज बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा राजतन्त्र पुन:स्थापना हुने सम्भावना समाप्त भएकाले आफूले यो एजेण्डा छाडेको भन्दै राप्रपालाई पनि छाड्न सुझाव दिएका थिए ।

‘राजेन्द्र लिङ्देनजीले राजतन्त्रको एजेण्डा छाड्नुहुन्छ भने एकता गर्नका लागि हामी जहिले पनि तयार छौं,’ थापाले भनेका छन् ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने कुनै पनि अवस्थामा कमल थापाको पार्टीसँग आफूहरूको एकता सम्भव नरहेको बताउँछन् । राप्रपासँग एकताको कल्पनै नगर्न उनले थापालाई आग्रह गरे ।

लिङ्देनले नेपाल प्रेससँग भने, ‘राजतन्त्रको मुद्दा छोडेर हिँडेको राप्रपा नेपालसँग एकताको हामीले कल्पनै गरेका छैनौं । उहाँहरूले पनि कल्पना नगर्दा हुन्छ ।’

यदि राप्रपा नेपाल पनि राजतन्त्रको एजेण्डामा आयो भने एकताको सम्भावना रहन्छ ? भन्ने प्रश्नमा लिङ्देनले भने, ‘त्यो पनि छलफल गर्नुपर्छ । अहिलेसम्म यो विषयमा छलफल गर्नु जरुरी ठानेका छैनौं ।’

थापाले विभाजनलगत्तै एकताको प्रसंग निकाल्नुका पछाडिको कारणबारे आफू अनभिज्ञ रहेको उनले बताए ।

लिङ्देनले थपे, ‘उहाँले बोल्नुभएको कुरामा म धेरै टिप्पणी गर्न चाहन्नँ । तर, राप्रपा र राप्रपा नेपालको मुख्य सिद्धान्त नै फरक भएको हुनाले एकताको कुरै भएको छैन र भविष्यमा पनि कुनै गुञ्जायस छैन ।’

यसपालीको स्थानीय चुनावमा राप्रपाले सन्तोषजनक नतिजा ल्याएको छ । अघिल्लो चुनावको भन्दा धेरै संख्यामा जित हासिल गरेपछि नेताहरू उत्साहित छन् । आगामी संसदीय चुनावमा बलियो उपस्थितिका साथ देशको चौथो शक्तिका रूपमा स्थापित हुने यस पार्टीले लक्ष्य लिएको छ ।

राप्रपा नेपालले भने स्थानीय चुनावमा नमिठो हार व्यवहोरेको थियो । भर्खरै गठन भएको पार्टीले चुनावी तयारी गर्न नभ्याएकाले यो परिणाम स्वाभाविक भएको थापाले बताउँदै आएका छन् । आगामी चुनावमा नतिजा सुधारेर राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर