पर्वतारोहण संघको चुनाव- चर्चित आरोही माया शेर्पाको नेतृत्वमा स्वतन्त्र प्यानल मैदानमा, यस्ता छ एजेण्डा – Nepal Press

पर्वतारोहण संघको चुनाव- चर्चित आरोही माया शेर्पाको नेतृत्वमा स्वतन्त्र प्यानल मैदानमा, यस्ता छ एजेण्डा

काठमाडौं । नेपाल पर्वरोहण संघलाई वषौंदेखि दोहन गरेर बसेको राजनीतिक दलको आवरणको गिरोहविरुद्ध यसपटक आरोही तथा व्यवसायीहरुले स्वतन्त्र प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । संघको नयाँ नेतृत्वका लागि शुक्रवार निर्वाचन हुँदैछ ।

संघलाई कमाइ खाने माध्यम बनाएर बसेका राजनीतिक दल आबद्ध केही व्यक्तिहरुको सिण्डिकेटविरुद्ध हिमाल आरोहणलाई नै पेशा बनाएका प्रतिष्ठित आरोही तथा व्यवसायीहरुले बरिष्ठ उपाध्यक्षदेखि सदस्यसम्मको प्यानल खडा गरेका हुन् ।

बरिष्ठ उपाध्यक्षमा सगरमाथासहित विश्वका ८ हजार मिटरमाथिका ७ वटा हिमालको सफल आरोहण गरिसकेकी चर्चित आरोही माया शेर्पा उम्मेदवार बनेकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् ।

माया शेर्पा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा व्यवसायी नुरु जाङ्बु शेर्पा,द्धितीय उपाध्यक्षमा सार्की तामाङ र महासचिवका आरोही तथा व्यवसायी आङ पेम्बा शेर्पा छन् । आङ पेम्बा टानका पूर्व महासचिव पनि हुन् ।

त्यस्तै सचिवमा शिवहादुर सापकोटा,कोषाध्यक्षमा फुरी गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् । यो प्यानलबाट सदस्यमा कान्छा नुर्बु शेर्पा,लाक्पा डेण्डी शेर्पा,दावटासी शेर्पा,आङदावा शेर्पा,फुरदिकी शेर्पा,दाबुटी शेर्पा,लक्ष्मी तामाङ,पेम्बा शेर्पा,चेङ्गा छिरिङ शेर्पा,पासाङ शेर्पा र किसान गुरुङ सदस्यमा उम्मेदवार बनेका छन् ।

पर्यटन क्षेत्रमा व्यवसाय नगरी राजनीति गर्ने विभिन्न समूहले गैर व्यवसायिक तथा गैर आरोहीहरुको सिण्डिकेट खडा गर्न खोजेपछि यसपटक आरोही तथा व्यवसायीहरुले स्वतन्त्र प्यानल बनाएको माया शेर्पा समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महिला आरोही माया शेर्पालाई बरिष्ठ उपाध्यक्षको उम्मेदवारबाट फिर्ता गराउँन राजनीतिक दलका नेताहरुले तीब्र दबाब दिएपछि आरोही तथा मजदूरहरु आक्रोशित भएका छन् । एकजना पेशेवर आरोहीलाई फिर्ता गरेर राजनीतिक दलका नेतालाई जिताउँन खोजिएको भन्दै आरोहीले घेरा हालेका थिए ।

बरिष्ठ उपाध्यक्षमा ६ दलीय गठबन्धनबाट माओवादी नेता ठाकुर पाण्डे उम्मेदवार छन् । यसपटक पर्यटन क्षेत्रमा आबद्ध दलका ठेकेदारहरुले सिण्डिकेट खडा गर्न खोजेपछि आरोही,व्यवसायी र मजदूरले विद्रोह गरेका हुन् । पर्वरोहण संघ कब्जा गर्न भएभरका सबै राजनीतिक दल एक ठाउँमा उभिएको आरोप छ ।

यो समूहले अध्यक्षमा भने उम्मेदवार उठाएको छैन । माया शेर्पा समूहले अध्यक्षमा निमा नुरु शेर्पालाई समर्थन जनाएको छ । माया शेर्पाको समूहमा आर्थिक रुपमा कतै विवादमा नपरेका र व्यवसायिक रुपमै पर्वतारोहण क्षेत्रमा क्रियाशील व्यक्तिहरु रहेका छन् ।

यो प्यानलबाट आरोही,व्यसायी,गाइड तथा पर्यटन मजदूरहरु उम्मेदवार रहेको व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले जानकारी दिए । नेपाल पर्वतारोहण संघ सबैभन्दा धेरै सदस्यहरु आबद्ध रहेको विश्वकै ठूलो अल्पाइन क्लव हो ।

पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष उम्मेदवार माया शेर्पाले संस्थामा देखिँदै आएको समस्या राजनीतिक खालको भएकाले अब व्यवसायी,मजदूर तथा आरोहीहरुको स्वतन्त्र प्यानलले आफ्नो जितपछि सबै विवाद निरुपणि गरेर साझा संस्था बनाउने बताइन् ।

महासचिव आङ पेम्बा शेर्पाले पर्वतीय पर्यटनको विकास,हिमालहरुका अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन तथा व्यवसायी,आरोही र मजदूरको समस्यालाई सरकारसँग समन्व्य गरेर समाधान गरिने बताए ।


प्रतिक्रिया

One thought on “पर्वतारोहण संघको चुनाव- चर्चित आरोही माया शेर्पाको नेतृत्वमा स्वतन्त्र प्यानल मैदानमा, यस्ता छ एजेण्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर