अब मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने – Nepal Press

अब मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरूको भाषा परीक्षा यस वर्षदेखि सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात् कम्प्युटर प्रविधिबाट हुने भएको छ ।

अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेबसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ ।

टपिक इपिएस डटकम topikeps.com वेबसाइट र टपिक इपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्न पत्रको असीमित अभ्यास गर्न पाउने भएका छन् ।

इपिएस टपिकको यस वर्षको कृषि समूह अन्तर्गतको परीक्षा यही महिनाको १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मूलक तर्फको परीक्षा पनि छिट्टै सुरु हुनेछ।

दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यस वर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुन्छ । परीक्षा हुने विधि अनुसार नै टपिक इपिएस मोबाइल एप र वेबसाइटमा परीक्षार्थीले अभ्यास गर्न सक्नेछन् ।

टपिक इपिएस एप र वेबसाइटमा प्रयोगकर्ताले साइन अप गरेसँगै उनीहरूले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सशुल्क रूपमा प्रश्नपत्रहरुको सेट खरिद गरी असीमित अभ्यास गर्न पाउने वेबसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए ।

उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरूले पनि प्रयोग गर्न सक्नेछन् ।

इन्स्टिच्युटहरूले यस वेबसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो शाखाको सम्बन्धन लिएर खातामा लगइन गरी विद्यार्थीहरूलाई अभ्यास गराउन सक्ने छन् ।

इपिएस टपिक डटकम वेबसाइट र मोबाइल

एप्लिकेशनमा कोरिया सरकारले लिने परीक्षाको ढाँचामा नै परीक्षाको अभ्यास गर्न सकिने भएकाले यो प्रभावकारी हुनसक्ने विश्व भाषा क्याम्पसका कोरियन भाषाका अध्यापक थानेश्वर बञ्जाडेले बताए । कम्प्युटररयुबिटी प्रविधिमा अभ्यास गर्दा परीक्षाका बेलामा झनै सहज हुने बञ्जाडेको भनाइ छ।

यस मोबाइल एप र वेबसाइटको निर्माण माकुरा क्रियसन्स प्रालि र हिमालयन ग्रुप अफ इन्स्टिच्युटले संयुक्त रूपमा निर्माण गरेको हो ।

इपिएस टपिकको वेबसाइट र एन्ड्रोइड एप सञ्चालनमा आइसेकेको छ भने आइओएस एप्लिकेशन भने केही दिनमै सञ्चालनमा आउने निर्माणपक्षले जानकारी दिएको छ ।

माकुरा क्रियसन्स एक दशकदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको संस्था हो भने हिमालयन ग्रुप अफ इन्स्टिच्युट भने कोरियाबाट फर्किएका व्यक्तिहरूद्वारा सञ्चालित शैक्षिक लगायत विभिन्न क्षेत्रमा क्रियाशील भएको छाता संस्था हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर