मेस्सीले एकै खेलमा गरे पाँच गोल – Nepal Press

मेस्सीले एकै खेलमा गरे पाँच गोल

ब्युनोस आयर्स। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले शनिबार राति इस्टोनियालाई ५–० गोलले हराएको छ।

अर्जेन्टिनाको जितमा पाँचवटै गोल लियोनल मेस्सीले गरे। उनले ८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खाता खोलेका थिए।

४५ मिनेटमा दोस्रो गोल गरेका उनले ४७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। मेस्सीले थप गोल ७१ र ७६ औँ मिनेटमा गरेका थिए। यो जितसँगै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले अपराजित यात्रा ३३ खेलमा पुर्‍याएको छ।

मेस्सीले अर्जेन्टिनाका लागि एकै खेलमा ५ गोल गरेको यो पहिलोपटक हो। यसअघि क्लबका लागि पनि एकपटक मात्र यस्तो सफलता हात पारेका छन्। सन् २०१२ मा बायर लेभरकुसेनमाथि बार्सिलोनाले हात पारेको ७–१ गोलको जितमा मेस्सीले ५ गोल गरेका थिए। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ८६ पुगेको छ। उनीभन्दा अगाडि रहेका मलेसियाका मोख्तर दहारीले ८९, इरानका अलि दाईले एक सय ९ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक सय १७ गोल गरेका छन्।

अर्जेन्टिनाले गत साता मात्र इटालीलाई ३–० गोलले हराएर फाइनलिस्सिमाको उपाधि जितेको थियो। युरो कप विजेता र कोपा अमेरिका विजेताबीच प्रतिस्पर्धा गराइएको थियो।

मेस्सीले हालसम्म विभिन्न ३० फरक देशविरुद्ध गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *