सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला र पूर्वसचिवबीच जुहारी – Nepal Press

सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला र पूर्वसचिवबीच जुहारी

काठमाडौं । एक सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला सचिव र पूर्वसचिवबीच सामाजिक सञ्जालमा जुहारी परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जाल फेसबुकमा जुहारी परेको हो ।

जेठ १८ गते पूर्वसचिव उपाध्यायले फेसबुकमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटको स्क्रिन सट फोटो राख्दै लेखे, ‘सरकारी कार्यालयमा अहिले ९ महिनापछि पनि यस्तो छ प्रमको नाम ।’

उनले राखेको फोटोमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम र फोटो छ भने सचिवमा महेश्वर न्यौपानेको नाम छ । जबकि प्रधानमन्त्रीबाट ओली हटेर शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ११ महिना बितिसकेको छ भने महेश्वर न्यौपाने पनि त्यहाँबाट सरुवा भएर संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा गएको केही महिना बितिसकेको छ ।

त्यसैको पछिल्लो दिन जेठ १९ गते पूर्वसचिव उपाध्यायको पोष्टलाई सेयर गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुकमार्फत नै ५२ जनालाई आफ्नो स्टाटस ट्याग गर्दै लेखेका छन्, ‘सम्मानित भीम उपाध्याय सर। तपाईंलाई कति याद छ थाहा भएन । तर, भनाइ छ- गोरु बुढो भएपछि भीर खोज्छ मानिस बुढो भएपछि निहुँ । तपाईंले फेसबुकमा शेयर गरी सरकारी निकाय खत्तम छ भन्नुभएको साइट अर्काइभ साइट (हिस्टोरिकल) हो । यहाँ हाम्रो अग्रज हो, मैले हिम्मतसाथ भन्छु यहाँ पदमा रहँदा गर्नुभएको १० उल्लेखनीय काम जम्मा गर्नुस् । अनि यहाँको त्यतिखेरका सहयोगी साथीसहित लाइभ कार्यक्रममा बसौं । अनि अरुलाई मूल्यांकन गर्न दिऔं । अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रयोग गरिरहेको साइट कुन हो, त्यो पनि हेर्नुस् । आफूलाई आदर्श छु भन्नुभन्दा पहिला प्रमाणित गर्नुस् । म पनि तपाईंकै जातको सर्प हुँ, यहाँलाई याद होला सर्पको खुट्टा सर्पले देख्छ । अन्यथा सरकारी निकायविरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्नुस् ।’

सचिव बुर्लाकोटीले पूर्वसचिव उपाध्यायलाई आफू बहालवाला सचिव भएको बेला गरेको नराम्रो काम नगरेका कारण त्यसको अपजस आफूले पाउनुपरेको पनि बताएका छन् । उनले भनेका छन्, ‘यौटा उदाहरण सार्वजनिक खरिद अनुगमन कार्यालयमा यहाँलाई यादै होला, यहाँको नेतृत्वमा रहेको तत्कालीन स्थानीय पूर्वाधार विभाग र अन्य मन्त्रालयले यो काम गरेको भए म जस्ता ऊल्लु बाटोमा हिंड्दा हिलोले भिज्नुपर्ने थिएन कि ? मैले मेरो अग्रजलाई सम्म्मान गर्छु तर सरकारकै मानो खाएर सरकारलाइ गाली गर्नेलाई जवाफ दिन पनि उचित ठान्छु । कतिपय सरकारी निकायको अर्काइभ साइट छ, जुन प्रयोगमा छैन, त्यसलाई अपडेट गरिन्न र हटाइन्न पनि ।’

बहालवाला सचिव बुर्लाकोटीले पूर्वसचिव उपाध्यायलाई आफ्नो कार्यकालमा गरेका १० उत्कृष्ट कामका सवालमा आफू कुनै पनि लाइभ कार्यक्रममा भिड्न तयार रहेको बताउँदै उपाध्यायको नजरमा आफूजस्ता नालायकलाई यही आफ्नो चुनौती रहेको बताएका छन् । ‘जय होस् मेरो अग्रजको यहाँको १० उत्कृष्ट कामको सवालमा म कुनै पनि लाइभ कार्यक्रममा बस्न तयार छु । पदमा रहँदा गरेको उत्कृष्टता प्रमाणित गर्नुस् म जस्ता तपाईंको नजरमा नालायकलाई, यही हो मेरो चुनौती । यहाँमा हिम्मत छ भने आउनुस् होइन भने सरकारी निकाय निकम्मा छ भनेर रमाइलो नगर्नुस् । यहाँले आजसम्म बेच्नु भएको परिचय नेपाल सरकारको पूर्वसचिव हो, यो हटाएर हेर्नुस्, आफै देखिन्छ म के हुँ । सायद मलाई यहाँले २०५६ देखि नै चिन्नुहुन्छ । हामी दुबैलाई आ-आफ्नो इतिहास थाहा होला । केपी ओलीज्यू प्रधानमन्त्रीबाट हट्नु भएको करिब ११ महिना हुन लाग्यो, सरको जोडघटाउ नै मिलेन अनि कसरी होस् वेबपेज अपडेट । जय होस भीम सरको ।’

शनिबारमात्रै फेसबुकमा अर्को स्टाटस पोस्ट गर्दै बहालवाला सचिव बुर्लाकोटीले करिब ३५ हजार निकायका झण्डै एक लाखभन्दा बढी प्रयोगकर्ताले एक वर्षअघि देखि आँखामा बाँधेको पट्टी भीम उपाध्याय सरले ३२० दिनपछि खोलिदिनुभएको बताउँदै सुझबुझ, लगनशीलता र निरन्तरताको लागि ३२० किलोकै मालाले सम्मान गर्नुपर्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘४,००० भन्दा बढी सार्वजनिक निकाय र ३०,००० भन्दा बढीको संख्यामा रहेका निर्माण व्यवसायी, परामर्शदाता र आपूर्तिकर्ताले बोलपत्रसँग सम्बन्धित कागजात, Egp Operating System का लिने password लगायतका कार्यका लागि प्रयोग गर्ने password मा राखिने कार्यालयको सामान्य विवरण पुरानो हुन सक्ला र ? यति धेरै प्रयोगकर्ताले ३०० दिनसम्म पुरानै विवरण पढे होलान र ? केही समयमात्र वेबसाइटमा समस्या आउँदा आउने फोनको घण्टी कति होला । हरेक दिन एक जना विज्ञ दिनको १२ बजेसम्म वेबसाइटमा आउन सक्ने समस्या तत्काल समाधान गर्न GIDC मा नै बस्नुहुन्छ र परामर्शदाताको समूह २४ र ७ को नियमअनुसार खटिरहेको अवस्था छ । जानकारीको लागि माथि उल्लेख गरिएका करिब ३५,००० निकायका झण्डै १,००,००० भन्दा बढी प्रयोगकर्ताले २०७८ असार २९ गतेदेखि आँखामा बाँधेको पट्टी भीम उपाध्याय सरले ३२० दिनपछि खोलिदिनु भयो। उहाँको सुझबुझ, लगनशीलता र निरन्तरताको लागि ३२० किलोकै मालाले सम्मान गर्नुपर्ला कि कसो !’


प्रतिक्रिया

3 thoughts on “सरकारी कार्यालयको वेवसाइटको विषयमा बहालवाला र पूर्वसचिवबीच जुहारी

  1. जिउँदो सचिव बल्ल देखियो पदमा बाहाल रहदै यतिको बोल्न सक्ने मेरो विचारमा नेपाल सरकारको उपल्लो या कुनै पनि पदमा बसेर काम गरून् जेल केही नबोल्ने अनि सधैंभरि सेवा सुविधा वा वैदेशिक भ्रमण र डलर अनि जन सम्पर्क र विकासे अड्डा अर्को शव्द मा क वर्गको अफिस खोज्ने र सकेसम्म कहीँ पनि अफ्ट्यारो नपर्ने गरि सुविधा लिने र देशलाई बाल मतलब नगर्ने अनि सेवाबाट बाहिर गए पछि विभिन्न उपल्लो नियुक्ति खोज्ने नपाए अनि सरकार र त्यसको अन्तरतत्वलाई तथानाम गर्ने प्रशासकलाई यो भनाइले भोलिका दिनमा अवकाश पछि बोल्नुपर्दा हेक्का राख्नेगरी आएको यो टिप्पणी प्रति मेरो शिर ठाडो भएको छ र तपाईंलाई सलाम ।

  2. आफु बहाल हुदा सुबिधा नपाइएला भनेर चु नबोल्ने र सुधारको काम केही नगर्ने तर निबृत्त भएपछि भने श्यल हुइय्या लगाउने निबृत्तहरुको रोग भिम सरमा अलि बढि नै लागेको उहाँका अभिब्यक्तिबाट प्रष्ट हुन्छ ।

  3. भिम उपाध्ययको स्टाटस हद सम्म बायस हुन्छ ! ओली प्रती लक्षित हुनका
    कारण उनको सरकारको पालामा साईबरको कारणले भिम जी लाइ केश समेत लागेकोले हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *